कलैया,जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सोमबार एकैदिन १६ जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिएर बारा जिल्ला अदालतमा बुझाएको छ ।जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्ड सजाय तोकिएका र वारदातपश्चात फरार रहेकाहरूको खोजतलासको क्रममा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा किसानले पालेको भैँसी चोरी गरेको र जबरजस्ति करणी उद्योगका प्रतिवादीहरु पनि रहेका छन । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा अधिकांश चेक अनादर मुद्दाका र सवारी ज्यान, खोटा चलन, कुटपिट तथा सरकारी छाप दस्तखत किर्ते जस्ता मुद्दाका प्रतिवादीहरू पनि रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दिएको जानकारीअनुसार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का जीवनकुमार श्रेष्ठ, कोल्हबी नगरपालिका १० का भोला पासवान, सोही पालिकाका सुरुजनारायण चौधरी, हरि चौधरी, उपेन्द्र चौधरी र बारागढी गाउँपालिका ५ का चन्दन पासवानलाई पक्राउ गरेको हो ।
त्यसैगरी पक्राउ पर्नेमा बिश्रामपुर गाउँपालिका ५ ईटियाहीकी उर्मिला देवी नुनिया, सोही गाउँपालिकाका राजन ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका २ का शेख अमिन, सोही पालिका ७ का महमुद आलम, बरकत मिया, बिश्रामपुर गाउँपालिका बडा नं.२ कान्तिपुर टोलका लालबाबु राउत अहिर, फेटा गाउँपालिकाका रामनरेश बैठा धोनी, कलैया उपमहानगरपालिका १ का दिनेश पाण्डे, सोही ठाउँ बस्ने कमलेश्वर साह सोनार र सुवर्ण गाउँपालिका ४ हर्दियाका नागेश्वरप्रसाद यादव रहेका छन ।कोल्हबीका भोला पासवानलाई गाउँमा भैँसी चोरी गरेको आरोप छ भने सुवर्णका नागेश्वर यादव जवरजस्ति करणी उद्योगका प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अदालतले यादवलाई ९ वर्ष ६ महीना कैद र ३५ हजार जरिवाना फैसला सुनाएको थियो ।
२१ वर्षदेखि फरार सवारी ज्यान मुद्दाका अभियुक्त दिनेश पक्राउ
वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले २१ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका– ५ पंचरुखी बस्ने ४७ वर्षीय दिनेशप्रसाद यादव रहेका छन् ।
प्रहरीका अनुसार २०६२ साल मंसिर १५ गते वीरगञ्ज महानगरपालिका– १४ चिनीमिल आवास क्षेत्र अगाडिको सडकखण्डमा ना.३ प ६३६२ नम्बरको मोटरसाइकलले पैदलयात्री बारा निवासी ६५ वर्षीय कालिका सिंह राजपुतलाई ठक्कर दिएको थियो । दुर्घटनापछि घाइते राजपुतलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएकोमा उपचारकै क्रममा मंसिर २६ गते चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि मोटरसाइकल चालक यादव सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका थिए । लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।


















