वीरगञ्ज,यस वर्षको गोतामे पत्रकारिता पुरस्कार कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी पुराना पत्रकार बद्री विनोद प्रतीक (खनाल)लाई प्रदान गर्ने निर्णय भएको छ ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको शनिवार सम्पन्न बैठकले यस वर्षको पुरस्कार प्रतीकलाई प्रदान गर्ने निर्णय भएको सचिव हिमालचन्द्र गौतमले बताउनुभयो ।एक तोला सुनको तक्मा रहेको सो पुरस्कार पत्रकार गोपालचन्द्र गौतमको पुण्यतिथि फागुन २ गते प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कृत हुने पोखराका पत्रकार पाँच दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।
अभियान साप्ताहिकबाट २०३१ सालदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार प्रतीक हाल पोखरा हटलाइनको प्रधान सम्पादक हुनुहुन्छ भने कास्की जिल्लाको विभिन्न क्याम्पसमा पत्रकारिता विषयमा अध्यापन समेत गर्नुहुन्छ ।
स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि यो पुरस्कार निरन्तर वितरण गर्दै आएको छ । पहिलो पुरस्कार रू १० हजार राशिबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो भने २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको छ ।अहिलेसम्म यो पुरस्कार मकवानपुरका पत्रकार प्रताप विष्ट, विराटनगरका पत्रकार मोहन भण्डारी, बुटवलका पत्रकार डिआर घिमिरे, राजविराजका पत्रकार शिवहरि भट्टराई, झापाका पत्रकार स्व मदन ढकाल, पाल्पाका पत्रकार मेघराज शर्मा, सप्तरी (कञ्चनपुर)का पत्रकार भोला पासवान, भैरहवाका पत्रकार अर्जुन ज्ञवाली, झापाका पत्रकार केशव आचार्य, धनुषाकी पत्रकार मनिका झाले प्राप्त गरिसकेका छन ।



















