पुष्पराज खतिवडा
बारा,साना किसान कृषि सहकारी संघ लिमिटेड बाराले जिल्लाका ११० वटा कृषि सहकारी संस्थाहरुलाई सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरेको छ । सूचनाको म्यादभित्र सहकारी संस्थाहरु सम्पर्कमा नआए सदस्यता खारेज गरिने कृषि सहकारी संघ बाराले जनाएको छ ।यही भाद्र १४ गते अध्यक्ष मिश्रिलाल सहनीको अध्यक्षतामा बसेको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको बैठकले यस्तो निर्णय गरेको हो ।
संघले जारी गरेको सूचनामा जिल्लाका ११० वटा कृषि सहकारी संस्था ३ देखि ५ वर्षसम्म सम्पर्कमा नआएको र नवीकरण समेत नगरेकाले सूचना जारी मितिले ३५ दिनभित्र सम्पर्कमा आएर संस्था नवीकरण गर्न भनिएको अध्यक्ष सहनीले बताउनुभएको छ ।
कुनै कारोबारमा संलग्न नहुने, नियमित कार्यक्रमहरुमा भाग समेत नलिने र बार्षिक साधारण सभामा बोलाउँदा समेत सहभागी नहुने सहकारीलाई नियमानुसार कारबाही गरी सदस्यता समेत खारेज गरिने उहाँको भनाई छ ।
संघमा १ देखि १५ हजार रुपैंयासम्म शेयर हालेका सहकारी लामो समय सम्पर्कमा नआउँदा संघ संचालनमा समस्या भइरहेको छ । ‘बोलाउँदा आउन्नन् । सम्पर्कमा नै छैनन् । यस्ता सहकारीलाई सदस्य बनाईराख्दा कोरम नपुग्ने समस्या हुने नै भयो ।’ उहाँले भन्नुभयो ।
यससँगै विभिन्न कार्यक्रमहरु तय गरी संचालन गर्न र ती संस्थाहरुका समस्या समाधानमा समेत समन्वय हुने अवस्था नरहेको अध्यक्ष सहनीको भनाई छ । ‘त्यसैले सूचना गरी बोलाएका हौं । सम्पर्कमा नआए ती संस्थाहरुलाई खारेज गरी उनीहरुको नाममा रहेको शेयर संस्थाले आम्दानी जनाउने छ ।’ अध्यक्ष सहनीले बताउनुभयो ।सदस्य कृषि सहकारीलाई वार्षिक १ हजार ५ रुपैंया बार्षिक नवीकरण शुल्क तोकिएको छ । संघमा एक सय ५७ वटा कृषि सहकारी संस्था सदस्य रहेका छन् । ती मध्ये साना किसान कृषि सहकारी संस्था लि. मधुरीजब्दी, साना किसान कृषि सहकारी संस्था लि. गजंभवानीपुर, साना किसान कृषि सहकारी संस्था लि. सिमरा २, बारा रहेका छन् ।
यस्तै जमुनीमाई कृषि सहकारी संस्था लि. खोपवा, उत्पादनशील कृषि सहकारी संस्था लि. निजगढ, औराह पशुपालनन कृषि सहकारी संस्था लि. जीतपुरसिमरा ४ बारा लगायत ११० वटा संस्थाहरु लामो समयदेखि सम्पर्कमा नआएको संघका प्रबन्धक नविन चौधरीले बताउनुभयो ।



















