मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– ७ स्थित रातो पुल नजिक रहेको आर्यघाट व्यवस्थापन र सरसफाइको अभावमा प्रदूषित बनेको छ ।जीतपुर बजार र आसपाका बासिन्दाहरुको मुख्य सन्दीसर्पण र घाटको रुपमा रहेको सो क्षेत्रको व्यवस्थापन नहुँदा बढेको फोहोरमैलाले स्थानीयवासी चिन्तित बनेका छन ।

यस क्षेत्रका सर्वसाधारणले मृत्युपछि अन्तिम संस्कारको लागि वर्षौंदेखि प्रयोग गर्दैआएको यो आर्यघाट पूर्वाधार, सरसफाइ र अन्य दृष्टिले समेत अन्यन्तै दयनीय अवस्थामा रहेको छ ।
स्थानीयवासीका अनुसार आर्यघाटमा न्यूनतम पूर्वाधारसमेत अभाव छ । किरियापुत्री बस्ने टहराको छानो, पिउनेपानी, बस्ने ठाउँ, सरसफाइ तथा दाहसंस्कार स्थलसमेत व्यवस्थित नहुँदा सागरमा पुग्ने सबैले सास्ती खेप्नुपरेको गुनासो गरिएको छ ।
स्थानीय ओमप्रकाश यादवले आर्यघाटको अवस्थाप्रति दुःख व्यक्त गर्दै भन्नुभयो, “घाम होस् वा पानी, अन्तिम संस्कारका लागि यहीँ आउनुपर्छ । तर यसको सुधार व्यवस्थापनको लागि पालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायको ध्यान कहिल्यै पुगेको छैन ।”समाजसेवी हरिचन्द्र परिषवानले पनि आर्यघाटको दयनीय अवस्थाले समाजिक कार्यमा देखिने असंवेदनशीलतालाई उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसले जीवनभर जे कमाए पनि अन्तिम गन्तव्य समसानघाट नै हो । त्यसैले हिन्दु समाज र जनप्रतिनिधिहरूले कम्तीमा आर्यघाटलाई व्यवस्थित बनाउन गम्भीर पहल गर्नुपर्छ ।”

स्थानीय कानेश्वर यादवको भनाई पनि उस्तै छ । उहाँले आर्यघाटको वर्तमान अवस्था हेर्दा नै घिन लाग्ने स्थिति रहेको भन्दै सम्बन्धित पक्षको बेवास्ताप्रति आक्रोश व्यक्त गर्नुभयो । “कम्तीमा जनप्रतिनिधि र समाजको आँखा पर्नुपर्ने हो,” उहाँले भन्नुभयो, “सबैसँग आग्रह छ— आर्यघाटलाई व्यवस्थित बनाइदिनुस् । हामी सबैको जीवन लिला यही आएर सकिने छ ।”स्थानीयवासीले आर्यघाटको दीर्घकालीन व्यवस्थापनका लागि तत्काल बजेट विनियोजन गरी आधारभूत संरचना निर्माण, नियमित सरसफाइ तथा संरक्षणको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Leave a Reply