मौलापुर – रौतहटको मौलापुरस्थित विद्युत् कार्यालयका प्रमुख उमेश दासमाथि कर्मचारी तथा सेवाग्राहीसँग दुव्र्यवहार गरेको र कार्यालय सञ्चालनमा मनोमानी गरेको आरोप लागेको छ । कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेयता कर्मचारीप्रति विभेदपूर्ण व्यवहार गर्ने गरेको उनीहरूको गुनासो छ ।
कर्मचारीका अनुसार दासले कार्यालय सञ्चालनका क्रममा मनोमानी निर्णय गर्ने तथा कर्मचारीका जायज गुनासा बेवास्ता गर्ने गरेका छन् । कार्यालयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूले पटक–पटक विरोधसमेत गरेको बताइएको छ ।
कार्यालयबाट प्रदान गरिने विद्युत् सेवामा तोकिएको शुल्कबाहेक अतिरिक्त रकम माग्ने गरेको आरोपसमेत सेवाग्राहीले लगाएका छन् । नयाँ मिटर जडान, मिटर स्थानान्तरण र महसुलसम्बन्धी काममा अतिरिक्त रकम मागिने गरेको उनीहरूको गुनासो छ ।
त्यस्तै, हुकिङ तथा अवैध विद्युत् प्रयोगका क्रममा नियन्त्रणमा लिइएका सामग्रीको व्यवस्थापनमा समेत प्रश्न उठाइएको छ । कर्मचारीहरूले कानुनी प्रक्रिया र बिल–भरपाइबिना रकम असुल गरी सामान फिर्ता गर्ने गरिएको हुनसक्ने आरोप लगाएका छन् । यद्यपि, यस आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
कार्यालय प्रमुखमाथि सरकारी सवारीसाधन तथा अन्य कार्यालयीय स्रोतसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोपसमेत लागेको छ । कर्मचारीहरूले सरकारी साधनको प्रयोग र कार्यालयमा हुने आर्थिक कारोबारबारे सम्बन्धित निकायबाट छानबिन तथा नियमित अनुगमन गर्न माग गरेका छन् ।
सेवाग्राहीले पनि अतिरिक्त रकम लिइएको भए त्यसको आधिकारिक शुल्क, बिल र रसिद सार्वजनिक गर्न माग गरेका छन् । स्थानीयवासीले कार्यालयको आर्थिक कारोबार पारदर्शी बनाउन लेखापरीक्षण तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
कर्मचारी र सेवाग्राहीबाट गम्भीर आरोप सार्वजनिक भएपछि नेपाल विद्युत् प्राधिकरणको सम्बन्धित माथिल्लो निकायले निष्पक्ष छानबिन गर्नुपर्ने माग उठेको छ। आरोप प्रमाणित भए नियमअनुसार कारबाही र प्रमाणित नभए आरोपबारे तथ्यसहित स्पष्ट पार्नुपर्ने स्थानीयवासीको भनाइ छ । यस विषयमा कार्यालय प्रमुख दास तथा नेपाल विद्युत् प्राधिकरणको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन ।














