वीरगन्ज,वीरगन्ज उद्योग वाणिज्य सङ्घ वीरगन्जको आइतबार सम्पन्न ४५ औं वार्षिक साधारणसभाले उद्योगी सुवोधकुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । वीरगन्जस्थित उद्योग वाणिज्य सङ्घमा सम्पन्न सङ्घको निर्वाचनले सर्वसम्मतबाट नेपाल चामल दाल तेल उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएका गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । उहाँले २ वर्षसम्म सङ्घको नेतृत्व गर्नुहुने छ ।
प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले हिजो सम्पन्न पदाधिकारीको निर्वाचनमा अध्यक्ष गुप्ताविरुद्ध कसैको उम्मेदवारी नपरेकोले सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएको बताउनुभयो । यसअघिको कार्यसमितिमा गुप्ता सङ्घको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिलाकुमार अग्रवाल पटवारी, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास, उद्योगतर्फ सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फ आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सह–कोषाध्यक्षमा प्रेमचन्द्र गोयल, सह–सचिव उद्योगतर्फ शुशान्त चाचान र वाणिज्यको अनोजकुमार रुङ्गटा चयन हुनुभएको छ । अध्यक्ष पदमा निर्वाचित गुप्ता वीरगन्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष पद प्राप्त गर्ने मधेसी समुदायबाट प्रथम व्यक्ति हुन्ुहुन्छ ।