कलैया,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बारामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम सुरु गरिएको छ ।आइतबारदेखि सुरु भएको तालिमअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर– १ अन्तर्गतका मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई प्रशिक्षण दिइएको हो । कोल्हवीस्थित अनुपदिपनी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको तालिममा सम्बन्धित क्षेत्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरू सहभागी छन् ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं. १ मा खटिने ३२२ जनामध्ये ३१९ जना कर्मचारी तालिममा सहभागी भएका छन् । तालिममा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको काम, कर्तव्य र अधिकारका विषयमा विस्तृत जानकारी दिइएको छ ।बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मतदान प्रक्रियाको व्यवस्थापन, मतदाता सहजीकरण तथा कानुनी प्रावधानबारे प्रशिक्षण दिनुभएको छ । त्यस्तै, मतदानका क्रममा शान्तिसुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका गणपति विशाल सिलवाल, श्री रिपुमर्दन गण ब्रह्मपुरीका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक सरोज निरौला तथा बारा क्षेत्र नं. १, २ र ३ का निर्वाचन अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।यसैबीच, क्षेत्र नं. २ का लागि फागुन ११ गते आज बरियारपुरस्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माविमा तालिम सञ्चालन गरिएको छ । क्षेत्र नं. ३ का लागि फागुन १२ गते कलैयाको श्री ३ चन्द्र मावि तथा क्षेत्र नं. ४ का लागि फागुन १३ गते जीतपुरसिमरा– ९ स्थित श्री नेरामावि छातापिपरामा तालिम आयोजना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply