निजगढ,निजगढ तिलगंगा आँखा अस्पतालले निजगढका विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुको निःशुल्क आँखा जाँच गर्ने भएको छ ।चालु शैक्षिक सत्रमा शिसु कक्षादेखि १ कक्षासम्म भर्ना भएका विद्यार्थीहरुको आँखा निःशुल्क जाँच गरिने अस्पतालका प्रमुख सुधिर श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयमा भर्ना भएको प्रमाणसहित अस्पतालमा आउने विद्यार्थीहरुको आँखा निःशुल्क परीक्षण र चश्मा आवश्यक भएका बालबालिकाहरुलाई प्रतिचस्मा ७ सय रुपैयासम्म छुट दिइने व्यवस्था गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।
अस्पतालले विद्यार्थीहरुको आँखा परीक्षणमा अभिभावक र शिक्षकहरुलाई प्ररित गर्ने उद्देश्यले विद्यालयहरुमा सचेतनामूलक होडिङ्ग बोर्ड बोड÷पोष्टर टाँस्ने अभियान पनि पूरा भएको जानकारी दिएको छ । अस्पतालले निजगढका सामुदायिक र संस्थागत विद्यालयहरुमा पुगेर आँखा सुरक्षा सम्बन्धि जानकारीमूलक सन्देशसहितको होडिङ्ग बोर्ड राखेको हो ।बालबालिकाहरुमा देखापर्ने एमलायोेपिया अर्थात् ‘अल्छि आँखा’ सम्बन्धि समस्याको निदान र उपचार गर्ने उद्देश्यले अस्पतालले निजगढका विद्यार्थीहरुको आँखा निःशुल्क परीक्षण गर्न लागेको हो ।
अस्पताल प्रमुख श्रेष्ठले अभियान अन्तर्गत नगरका सबै विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुमा आँखा जाँच गराएर बालबालिकामा हुने एमलायोेपिया ‘अल्छि आँखा’ सम्बन्धि समस्या निराकरण गर्न कार्यक्रम शुरु गरिएको बताउनुभयो ।
पहिलो चरणमा पर्चा, पम्प्लेटमार्फत एमलायोेपिया सम्बन्धि समस्याको जानकारी गराएर अभिभावक, विद्यार्थी र शिक्षकहरुलाई आँखा परीक्षणको लागि प्रेरित गरिएको र दोस्रो चरणमा स्वास्थ्यकर्मीहरुको टोली विद्यालयमै पुगेर विद्यार्थीहरुको आँखा परीक्षण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । ‘धेरै विद्यार्थीहरुमा आँखासम्बन्धि समस्या हुनसक्छ, उहाँले भन्नुभयो, तर परीक्षण नहुँदा यसको पहिचान हुन सकेको छैन ।’ बालबालिकाहरुमा देखिने दृष्टिदोष सम्बन्धि समस्या पत्ता लगाएर निराकरण गर्न आँखा परीक्षण जरुरी रहेको उहाँको भनाई छ ।
आँखा अस्पतालका नेत्र चिकित्सक विष्णुहरी मरहठ्ठाले बालबालिकाहरुमा विश्वव्यापी रुपमा एमलायोेपिया सम्बन्धि समस्या बढ्दै गएको र निजगढमा यसको निराकरणको लागि अभियान संचालन गरिएको बताउनुभयो ।
उहाँकाअनुसार एमलायोेपिया भएका बालबालिका वा विद्यार्थीमा कक्षा कोठाको बोर्डमा लेखेको कुरा बुझ्न गा¥हो हुने, हिड्दा ठोकिएर पटक–पटक लडिराख्ने, टीभी, किताब, कापी र मोबाइल आँखा नजिकै लगेर हेर्ने, अतिरिक्त क्रियाकलापमा सहभागी नहुने, आँखा सानो बनाएर वा खुम्चाएर हेर्ने वा बेला–बेलामा टाउको बाङ्गो गरेर हेर्ने, आँखा धेरै मिच्ने र टाउको दुख्ने जस्ता समस्या देखा पर्ने गर्छन ।
‘बारम्बार यस्ता समस्या देखापरे भने यो दृष्टिदोषको लक्षण हो, चिकित्सक मरहठ्ठाले भन्नुभयो, यस्तो अवस्थामा बालबालिकाले नजिकको देख्ने तर टाढाको धमिलो देख्ने वा नदेख्ने हुनसक्छ ।’समयमा नै उपचार गरी चश्मा लगाए ‘अल्छि आँखा’ सम्बन्धि समस्याबाट बालबालिकालाई जोगाउन सकिने उहाँको भनाई छ ।सामान्य स्वस्थ आँखाले जस्तो काम नगर्ने आँखालाई ‘अल्छि आँखा’ भनिने उहाँले जानकारी दिनुभयो । १० वर्षसम्मको उमेरभित्र नै यो रोगको उपचार गर्नुपर्ने उहाँको भनाई छ ।
अस्पतालले निजगढलाई शुन्य मोतियाविन्दु पालिका घोषणा गर्ने कार्यक्रम अन्तर्गत विद्यालय र समुदाय स्तरमासमेत निःशुल्क आँखा परीक्षण गर्दैआएको छ ।

















