रौतहट ,चन्द्रपुर नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१-८२ को बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले आफ्नै सभाहलमा आयोजित १३औं नगरसभामा उपमेयर जयमाला चौधरीले चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष ०८१-८२ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

उपमेयर चौधरीले राजस्व बाँडफाँटबाट प्राप्त रकम, संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालू-पुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पुँजीगतको तथा आन्तरिक स्रोतहरू भूमिकर÷मालपोत, घरबहाल कर, लगायतका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौजदातसहित १० करोड गरी कुल १ अरव ८ करोड १० लाख बजेट प्रस्तावित गर्नुभएको हो ।

उहाँले नीति, कार्यक्रम तथा बजेटमा पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी महत्वपूर्ण विषयका साथै चन्द्रपुरको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताउनुभएको छ । अधिवेशनको उद्घाटन रौतहट क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिना, मधेस प्रदेशका उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई (समिर) तथा नगरपालिकाका मेयर संजय काफ्लेले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै सांसद तिमल्सिनाले स्थानीय सरकारले नै आफ्नो नगर बनाउने हुँदा शिक्षा, स्वास्थ, कृषि तथा पुर्वाधारको विषयमा विशेष जोड दिन आग्रह गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा रौतहट जिल्ला पछि परेकोले स्थानीय तहले शिक्षा क्षेत्रलाईमाथि उकास्न विशेष भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । बजेट बनाउदा पिछडिएका वर्ग तथा क्षेत्रलाई ध्यानमा राखी बनाउनु पर्ने उहाँको आग्रह थियो ।

यस्तै कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराईले तिनै तह नमिलेसम्म नगरको विकाश सम्भव नहुने हुँदा तिनै सरकारले समन्वय गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले आफ्नो पालिकामा के बनाउने र कसरी बनाउने, त्यसका लागि स्रोत कसरी जुटाउने र सोचेको लक्ष्य कसरी पाउनेसम्म योजना बनाउन सके मात्र नगरपालिले विकाशको गती लिनसक्ने हुँदा यसमा ध्यान दिन आग्रह गर्नुभयो । मधेस प्रदेशमा बजेट बिस्तार गर्दा बिचौलिया हावी भएको हुँदा यसलाई नियन्त्रण गर्न अबको मधेस सरकारले बिडिएसमार्फत कार्य गर्ने योजना बनाईसकेको बताउनुभयो । साथै उहाँले आफ्नो कार्यकालमा नामको लागि तालिम नभई तालिमपछि रोजगार सृजना गर्ने ग्यारेन्टी रहने पनि सुनाउनुभयो ।मधेस प्रदेशभित्र रहेका उद्योगी व्यवसायीहरुसंग सहकार्य गरी तालिम प्रदान गरी रोजगारी सृजना गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै नगरप्रमुख संजय काफ्लेले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।नगर सभामा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, कर्मचारी, संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply