कलैया,बाराको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका–४ बकैया खोलाको बाँध कच्ची सडकबाट अवैध लागूऔषध गाँजा ६ किलो ७ सय ६० ग्राम सहित दुई जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट फतुवा बिजयपुर नगरपालिका–४ बस्ने २५ वर्षीय राम प्रवेश महतो र सोही नगरपालिका–९ बस्ने २१ वर्षीय राजेश महतो रहेका छन् ।ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बागदेवबाट पुरानो निजगढतर्फ आउदै गरेको प्र.०२–०२९ प २८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यसैगरी बारा प्रहरीले लागूऔषध गाँजासहित अमलेखगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै जना भारतीय नागरिक रहेका छन् ।
हेटौंडाबाट सिमरातर्फ आउँदै गरेको भारतीय नम्बरको कारलाई अमलेखगञ्जमा जाँच गर्ने क्रममा प्रहरीले १५ किलो गाँजा बरामद गरेको थियो । सो क्रममा प्रहरीले कारमा सवार दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी बलराम श्रेष्ठले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा कार चालक भारत पूर्वीचम्पारण मोतिहारीका २६ वर्षीय अखिलेशकुमार साह र कारमा सवार सोही ठाउँका १९ वर्षीय राजकुमार पासवान रहेका छन् । कारको सिट मुनी फल्स बटम बनाएर चार वटा पोकामा लुकाएर ल्याउँदै गरेको गाँजा बरामद भएको हो ।पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी अनुसन्धान भईरहेको निमित्त सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।