मनोज शाह
जीतपुर,माछा चोरेको आरोपमा पोखरीका साहुले प्रहरीमा उजुरी दिएपछि बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– १२ फत्तेपुरका जोगिन्दर चमार यतिबेला समस्यामा पर्नुभएको छ ।छिमेकी साथीहरुसंगै माछा मार्न गएका चमारलाई पोखरीका मालिक स्थानीय सोनालाल साह कलवारले माछा लुटेको भन्दै प्रहरी कार्यालयमा झुटा मुद्दा दर्ता गराएका छन । साहुले नै बोलाएपछि साथीहरुसंगै माछा मार्न गएको तर पछि आफूलाई मात्रै मुद्दा हालिएको उहाँले बताउनुभयो ।
‘पोखरीको माछा बिक्री भएपछि बाँकी माछा मारेर लैजान गाउँहरुलाई बोलाएका रहेछन, जोगिन्दरले भन्नुभयो, तर पछि आफूलाई मात्रै चोरीको आरोपमा फसाउन खोजिएको छ ।’ एक महिनाअघि बिक्री भएको माछा व्यापारीले समातेर लगेपछि सोनालालले नै बोलाएर दर्जनौं गाउँलेहरुले पोखरीमा पुगेर माछा मारेका थिए ।
जोगिन्दरका अनुसार फत्तेपुर क्षेत्रमा रहेको पोखरीमा दिउसो १२ बजे गाउँले माछा मारेको घटनामा उनीमाथि चोरी गरेको आरोप लगाइएको हो । तर उक्त समयमा आफू मात्र नभई सयौं स्थानीय व्यक्तिहरू पोखरीमा माछा मार्न उपस्थित रहेको उहाँले बताउनुभयो ।उहाँ भन्नुभयो, “दिउसो करिब १२ बजेतिर पोखरीमा धेरै मानिसहरू थिए । म पनि त्यहीँ उपस्थित थिएँ । तर योजनाबद्ध रूपमा मलाई मात्रै दोषी देखाएर फसाउन खोजिएको छ । दलित भएकै कारण ममाथि अन्याय गरिएको महसुस गरेको छु ।”उहाँले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा आफूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ । गरिब र दलित भएकै कारण सजिलै दोष थोपर्ने प्रवृत्ति बढेको उहाँले गुनासो गर्नुभयो ।



















