वीरगञ्ज,पर्सा प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सूचना संकलन टोलीले बिआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकलबाट बिहीबार बेलुका हुण्डी कारोबारको आशंकामा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– २ का ३९ वर्षीय सञ्जयकुमार साह र बाराको महागढिमाई नगरपालिका– ४ का ४१ वर्षीय शनिकुमार ठाकुर रहेका छन् ।

मोटरसाइकल रोकेर चेकजाँच गर्ने सिलसिलामा दुबै जनालाई मोटरसाइकलमा लुकाई राखिएको रकमसहित वीरगन्ज महानरपालिका– २ घुसुकपुर इदगाह चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
उनीहरूको साथबाट १४ लाख १३ हजार ५०० रुपैयाँ बरामद भएको मिश्रले बताउनुभयो । दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ । हुण्डी कारोबारले प्रचलित बैंक तथा वित्तीय संस्थाको कानुनी रित नपु¥याउने हुँदा यसलाई गैरकानुनी मानेर प्रहरीले कारबाही गर्ने गरेको छ ।



















