मनोज शाह
जीतपुर,पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– ३२ अन्तर्गत पर्ने लक्ष्मीपुर–परसाव सडकखण्डमा सडक ढलान सम्पन्न भए पनि सडकको बीच भागमा रहेको विद्युत् पोल नहटाइँदा स्थानीयवासी आक्रोशित बनेका छन् । निर्माण कम्पनीको लापरवाहीका कारण पोल नहटाइँदा सडकमा सवारी दुर्घटनाको जोखिम दिनहुँ बढ्दै गएको छ ।
स्थानीयका अनुसार सडक निर्माणको काम सम्पन्न भए पनि सडकको बीचभागमा रहेका विद्युत् पोलहरू यथावत् छाडिएकाले सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । विशेषगरी साँघुरो सडकमा पोलका कारण मोटरसाइकल, साइकल तथा अन्य सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढेको उनीहरूको भनाई छ ।
स्थानीय रमेश महतोले निर्माण कम्पनी शामा कन्ट्रक्सन प्रालिमाथि आक्रोश व्यक्त गर्दै जनताको सुरक्षामाथि खेलवाड गरिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सडक ढलान गरियो, तर बीच सडकमा रहेका पोल हटाइएन । यसले दुर्घटनाको जोखिम बढाएको छ । जनताको सुरक्षाप्रति कुनै संवेदनशीलता देखिएन ।” उहाँले तत्काल समस्या समाधान गर्न पनि माग गर्नुभएको छ ।
स्थानीय महिला फुलवा देवीले सडक निर्माणपछि झन् समस्या थपिएको गुनासो गर्नुभयो । उहाँका अनुसार सडकको अवस्थाका कारण गाउँमा एम्बुलेन्स र ठूला सवारीसाधन प्रवेश गर्न कठिन भएको छ ।
उहाँले भन्नुभयो, “विवाह कार्य, बिरामी वा अन्य आपत्कालीन अवस्थामा गाडी आउन सक्दैन । सडक बनाउने नाममा जनतालाई झन् दुःख दिने काम भएको छ ।”स्थानीयवासीका अनुसार रातिको समयमा पोल नदेखिँदा दुर्घटनाको जोखिम अझ बढी हुने गरेको छ । सडकमा पर्याप्त संकेतचिन्ह वा सुरक्षाका उपायसमेत नराखिएको उनीहरूको आरोप छ ।
स्थानीयहरूले सम्बन्धित निकाय, विद्युत् प्राधिकरण तथा निर्माण कम्पनीले तत्काल समन्वय गरेर बीच सडकमा रहेका पोल हटाएर सडक व्यवस्थित नबनाइए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।यस विषयमा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन ।



















