कलैया,प्रहरीले बारा जिल्लामा लागुऔषध सेवनकर्ताको खोज एवम् सुधार अभियान सुरु गरेको छ ।कलैया उपमहानगरपालिका– १० स्थित मटिअर्वामा सामुदायिक प्रहरीको आयोजनामा हिजोबाट अभियानको शुभारम्भ गरिएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आदेशअनुसार “लागुऔषध सेवनकर्ता खोजी एवम् सुधार अभियान अन्तर्गत बाराका सिमानाकाहरूमा लागुऔषध परीक्षण केन्द्र स्थापना गर्ने कार्यक्रमसमेत अघि बढाइएको हो । सोही क्रममा मटिअर्वामा लागुऔषध सेवन गर्ने शंकास्पद व्यक्तिहरूको कीटमार्फत परीक्षण गर्ने कार्य पनि सुरु गरिएको छ ।
कार्यक्रमको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले अभियानलाई स्वागत गर्दै “ढिलो भए पनि राम्रो काम सुरु भएको बताउनुभयो । उहाँले लागूऔषधसम्बन्धी समस्या समाधानका लागि भवन निर्माण गरी एकीकृत सेवा प्रवाह आवश्यक रहेको स्थानीय तहलाई समन्वय गर्न आग्रह गनुृभएको छ ।त्यसैगरी, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले सिमा नाकामा आवतजावत गर्ने शंकास्पद व्यक्तिहरूको लागुऔषध परीक्षणमा स्थानीयको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवरले लागुऔषध सेवनकर्तालाई समयमै पहिचान गरी उपचार तथा पुनःस्थापनामा ल्याउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा कलैया उपमहानगरपालिका १० नं. वडा अध्यक्ष महम्मद साबिर, प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, प्रस्तावित सिमा सुरक्षा मटिअर्वाका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष अधिकारी, सामुदायिक प्रहरी बाराका सचिव जंगबहादुर यादव, लोकेश सिंह, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।



















