नरेश गुप्ताबरियारपुर,महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम बुधवार सार्वजनिक गर्नुभएको छ । छैठौं नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख यादवले ‘महागढीमाईको रहर ः सुशासन, सवृद्ध र सुन्दर शहर’ भन्ने मूल नारा अघि सार्नुभएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख यादवले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको जगमा दिगो शान्ति, सुशासन, विकास र संवृद्धिको आंकाक्षा पूरा गर्न स्थानीय सरकारको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत कृषितर्फ कृषिको आधुनीकरण तथा व्यवसायीकरण गरि आय आर्जन वृद्धि गर्ने नीति लिइएको पनि उहाँले बताउनुभयो ।
त्यसैगरी नीति तथा कार्यक्रममार्फत संवृद्धिको लागि सहकारी अभियानलाई सफल पार्न साना तथा मझौला व्यवसायमा सलग्नलाई सहकारीमा आवद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको नगरप्रमुख यादवले जानकारी दिनुभयो । विश्व प्रसिद्ध गढीमाई मन्दिरको विकास तथा सौन्दर्यकरण गर्न महागढीमाई विकास कोष स्थापना गरिने पनि कार्यक्रममा उल्लेख छ । पयर्टन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न नगरपालिकालाई धार्मिक पर्यटकीय नगरीको रुपमा परिचित गराउने गरी विकास गरिने नीति लिइएको बताइएको छ ।
शिक्षा, स्वास्थ्य, महिलाको विकास, युवा खेलकुद कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरिने प्रमुख यादवले बताउनुभयो । ‘युवाको हात मेयरको साथ’ कार्यक्रम अन्तर्गत युवाहरुको सहयोगी समूह तयार गरिने र प्रत्येक वडामा युवासंग मेयर कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो ।
यसैबीच नगरसभा शुरु हुनुअघि वडा नम्बर ७ का वडा अध्यक्ष सिबेन्द्र प्रताप सिंह, वडा नम्बर १० का वडा अध्यक्ष चन्दन साहले बाहिर बैठक पुस्तिकामा उपस्थिति गराइएको बिषयलाई लिएर प्रश्न गरेपछि विवाद उत्पन्न भएको थियो । विवादपछि बैठक पुस्तिका नियन्त्रणमा लिएर च्यातेपछि नगरसभा केहीबेर अवरुद्धसमेत भएको थियो । नगरसभाभित्र अराजक क्रियाकलाप गर्नेमाथि कारबाही गरिने नगरप्रमुख यादवले बताउनु भएको छ । छैठौं नगरसभा कार्यक्रममा स्वागत मन्तव्य महम्द शेरे मुस्ताफा तथा संचालन रामबिश्वास चौरसियाले गर्नुभएको थियो ।
महागढीमाई नगरपालिका कार्यालय परिशरमा सम्पन्न छैठौं नगरसभामा उपप्रमुख तारादेबी कानु, वडा अध्यक्षहरु, वडा सद्स्य, कार्यपालिका सद्स्य र पत्रकारहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।