राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुक्रबार आफ्नो गृह जिल्ला सप्तरीमा पुगेर साधारण नागरिकझैं सेवा लिएपछि प्रशासनिक सेवा प्रणालीमा परिवर्तनको सन्देश दिएका छन्। उनले नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र लिनका लागि जिल्ला प्रशासन कार्यालयमा टोकन लिएर घण्टौंसम्म लाइनमा बसेर सेवा लिएका हुन्।

मुख्यमन्त्रीको यस्तो व्यवहार देखेपछि कार्यालयमा सेवा लिन आएका अन्य नागरिकहरू स्तब्ध र उत्साहित देखिए। “कानून सबैका लागि बराबर हुन्छ भन्ने कुरा व्यवहारमै देखाउनुभएको छ,” एक सेवाग्राहीले प्रतिक्रिया दिँदै भने।

सिंहले कार्यालयमा सेवा ढिलाइ, कर्मचारीको उपस्थिति र सेवाग्राहीले भोग्ने अन्य समस्या बुझ्दै त्यस्ता समस्या समाधानका लागि प्रदेश सरकार आवश्यक पहल गर्ने उनले प्रतिबद्धता जनाए।

मुख्यमन्त्रीसँग प्रत्यक्ष गुनासो राख्ने अवसर पाएका सेवाग्राहीहरूले एउटै कामको लागि पटकपटक धाउनु पर्ने, अनावश्यक झमेला र फाइल रोकिने समस्या सुनाए।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश कुमार झाले मुख्यमन्त्रीले आफ्नो नागरिक दायित्व निर्वाह गर्दै सेवा लिएको पुष्टि गरेका छन्।

Leave a Reply