कलैया,बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्धको खोप अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोप अस्पतालमा महिनौदेखि अभाव हुँदा बिरामीहरू निजी मेडिकलबाट चर्को मूल्य तिरेर खोप लिन बाध्य छन ।अस्पतालमा खोप नहुँदा विशेषगरी गरिब तथा विपन्न परिवारका नागरिक बढी प्रभावित भएका छन् । कुकुर, बिरालो र स्याललगायत जनावरले टोकेपछि रेबिजको आशंकामा अस्पताल पुग्ने गरेका सर्वसाधारण खोप अभावमा रित्तो हात फर्किन बाध्य भएका छन । बिरामीहरुलाई अस्पतालका चिकित्सकले बाहिरबाट किनेर ल्याउन भन्ने गरेको र निजी मेडिकलले एउटा खोपको ५ सय ६० रुपैयाँसम्म लिने गरेका छन ।केही सेवाग्राहीले भने खोप उपलब्ध भएर पनि अस्पतालका स्वास्थ्यकर्मीहरुले पहुँचका आधारमा खोप वितरण गर्ने गरेको आरोप समेत लगाएका छन् ।
अस्पतालको एआरभी शाखाका अनुसार कुकुर तथा बिरालोले टोकेर उपचारका लागि दैनिक ४० देखि ५० जनासम्म आउने गरेका छन् । अस्पतालका अहेव रबिन्द्रकुमार यादवले भने दैनिक २५ देखि ३० जना रेबिजका नयाँ बिरामी आउने गरेको जानकारी दिनुभयो । तर अस्पतालमा खोप मौज्दात नभएकाले सबैलाई बाहिरबाटै किनेर ल्याउन सल्लाह दिनुपरेको बताउनुभयो । यादवका अनुसार विगत ३ महिनादेखि खोपको अभाव रहँदै आएको छ ।
गत चैत २८ गते ९० वटा खोप प्राप्त भए पनि बिरामीको चापका कारण वैशाख ४ गते नै उक्त परिमाण सकिएको थियो । त्यसयता अस्पतालमा खोप अभाव छ ।यता अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजयकुमार गुप्ताले खोप अभाव भएको स्वीकार गर्दै कसैप्रति पक्षपात नगरिएको बताउनुभयो ।


















