वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रका कतिपय उद्योगहरु नै धरासायी बनेका छन् । हामीकहाँ उद्योगधन्दाको विकास हुन नसक्दा एकातिर रोजगारीका अवसरहरु सिर्जना हुन सकेको छैन भने अर्कोतर्फ आर्थिक गतिविधि पनि चलायमान हुन सकेको छैन ।
उद्योगधन्दाको विकासले देशमा आर्थिक गतिविधिलाई चलायमान गराउँछ र आर्थिक वृद्धिमा थप सहयोग गर्दछ।यसका साथै रोजगारीका अवसरहरु पनि सिर्जना भई युवाहरु विदेश पलायन हुने क्रममा पनि कमी आउँछ ।
उद्योगधन्दाको विकासले घरेलु अर्थतन्त्रलाई मात्र सहयोग गर्दैन, निकासी व्यापारमार्फत देशबाहिरबाट धन भित्र्याउने अवसर पनि प्रदान गर्दछ । सम्पन्नताको मार्गमा अगाडि बढिरहेका र हासिल गरिसकेका सबै राष्ट्रमा औद्योगिकीकरणले तीव्रता लिएपछि नै आर्थिक वृद्धि राम्रो भएको थियो ।
उद्योगधन्दाले रोजगारीमार्फत आय बढाएपछि उपभोग्य वस्तुको माग पनि बढ्छ । धेरै लचक नभए पनि खाद्यान्नको माग पहिलो प्राथमिकतामा पर्दछ । खाद्यान्न सस्तो हुँदा ज्यालामा दबाब पर्दैन, महँगो भयो भने ज्यालामा दबाब पर्दछ । फलस्वरुप, रोजगारीको अवसर खुम्चिन्छ । त्यसैगरी कतिपय कच्चा पदार्थ कृषिक्षेत्रबाट प्राप्त हुन्छ । त्यसकारण औद्योगिकीकरण र कृषि विकास साथसाथै जानुपर्दछ, एक–अर्काको परिपूरकको रुपमा ।खासगरी एक सार्वभौम राष्ट्रको हिसावले कुनै पनि देशले आफ्नो लागि आवश्यक खाद्यान्न उत्पादन गर्नै पर्दछ । खाद्यान्नको परनिर्भरताको असर सबैभन्दा खतरनाक हुन सक्छ । कल्पना गरौं त भारतबाट इन्धन नआउँदा हामीले हिँडेर काम चलायौं तर खाद्यान्न आएन भने भोकै बसेर त बाँचिदैन होला । फेरि, कृषिलगायत उद्योगधन्दाको विकास र विस्तार भएन भने भाडा असुल्ने प्रवृत्ति भएको आर्थिक गतिविधि मात्र सञ्चालन हुनथाल्छ ।अर्थव्यवस्था उद्यमीभन्दा नाफाखोरको क्रिडास्थल बन्दछ । यस्तो खतरनाक अवस्था आउन दिनुहुँदैन । उद्योगधन्दा वा कृषि विकासमा होस्, सबै अर्थिक गतिविधिको लागि जोखिमको मात्रा कम हुनुपर्दछ ।

















