मनोज शाह
जीतपुर,लामो समयदेखि तलब नपाउदा जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा बजार क्षेत्रको सरसफाइ गर्ने मजदुरहरु समस्यामा परेका छन । सफाइ मजदुरहरुले अढाई महिनादेखिको तलब पाएका छैनन ।जीतपुरसिमराको सरसफाइको जिम्मा पाएको ग्रिन सिटी प्रालि हेटौडाले तलब नदिएपछि दैनिक गुजारा समस्यामा परेको उनीहरुको भनाई छ । ग्रिन सिटीले तलब र आवश्यक सुरक्षा सामग्री समेत उपलब्ध नगराउँदा आफूहरु खाली पेट र खाली हातमा काम गर्न बाध्य भएको गुनासो गरेका छन ।ग्रिन सिटीले स्थानीय सफाइकर्मीमार्फत बजार क्षेत्रको सरसफाइ गर्दैआएको छ । तर कम्पनीले उनीहरुको लागि आवश्यक सुरक्षा सामग्रीको प्रबन्ध नगरेको मात्रै होइन, मासिक तलबसमेत उपलब्ध गराएको छैन ।मधेसमा हाल बढेको ठण्डी र शीतलहरको बाबजुद पनि सुरक्षा सामग्री बिना नै उनीहरु बिहान सबेरैदेखि दिनभरि नै बजारको सफाइमा खटिने गरेका छन । ‘जाडो र गर्मी नभनी सधै काम गर्नुपर्छ, सरसफाइकर्मी गुल्टी मालीले भन्नुभयो, न बेलामा तलब पाइन्छ, न त सेप्टीको लागि आवश्यक सामान नै दिइएको छ ।’ उहाँले आफूहरुलाई खाली हात र खाली पेटमा काम गर्न बाध्य पारिएको गुनासो गर्नुभयो । तलब नपाएको साढे दुई महिना बितिसकेको बताउदै उहाँले घरमा खानको लागि चमाल सकिएको पनि हप्तौं भइसकेको सुनाउनुभयो ।‘पहिले पहिले काम गर्ने बेलामा लगाउने सुरक्षा सामग्री दिने गरिएको थियो, अर्का सफाइकर्मी रामायण मालीले भन्नुभयो, तर अहिले सामग्री त कता हो कता बेलामा मासिक तलब समेत पाइदैन ।’आफूहरुको समस्या बारे नगरपालिका र वडा कार्यालयका जनप्रतिनिधिहरुलाई पटकपटक जानकारी गराउदा समेत कुनै सुनुवाइ नभएको उहाँको गुनसो छ । ‘फोहोर सोरेर शहर सफा र सुन्दर पार्छौ, उहाँले भन्नुभयो, तर आफूहरुको समस्यामा बारे कसैले पनि वास्ता गरेका छैनन ।’यता, ग्रिन सिटीका नवराज ढकालले सफाइकर्मीहरुको मासिक तलब चाढै नै वितरण गरिने जानकारी दिनुभएको छ ।

Leave a Reply