सिमरा,नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको अवलोकन गर्न सकिने र जैविक विविधताले धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरू आउने क्रम बढेको हो ।

निकुञ्जभित्र आउने नेपाली पर्यटकका लागि रु १००, सार्क मुलुकभित्रका पर्यटकका लागि रु ७५० र विदेशी पर्यटकका लागि रु एक हजार ५०० प्रवेश शुल्क निर्धारण गरिएको र जिप सफारीका लागि रु दुई हजार ५०० र गाईडका लागि वार्षिक रु एक हजार ५०० शुल्क तोकिएको छ ।
पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसअघि आरक्षको रुपमा रहेको यो क्षेत्रलाई सरकारले २०७४ सालमा निकुञ्ज घोषणा गरेको थियो ।
‘विगतकोभन्दा अहिले निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटकहरू क्रम बढेको छ’, निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले भन्नुभयो, ‘त्यसमा पनि आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।’

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को नौ महिनाको अवधिमा ४१३ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । उनीहरु मध्ये सार्क मुलुकका १४ जना र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताउनुभयो । ‘सरदर वार्षिक एक हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने गरेका छन्’, सूचना अधिकारी भगतले भन्नुभयो, ‘खासगरी कात्तिकदेखि चैत महिनासम्म बढी पर्यटक आउँछन्, वर्षा मौसम सुरु भएपछि पर्यटकको आगमन कम हुन्छ ।’निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दहहरू पर्यटकको प्रमुख आकर्षणको केन्द्रको रुपमा रहेका छन ।

चुरे र भावर क्षेत्रमा फैलिएको यो निकुञ्जमा वन्यजन्तुको लागि पानीको मुख्य समस्या रहेको छ । वन्यजन्तुहरुको लागि पिउने पानीको सहजका लागि ठाउँठाउँमा कृतिम पोखरी निर्माण गरिएसंगै पाटेबाघसहितका वनजन्तुहरूको संख्यासमेत वृद्धि भएको हो ।
निकुञ्जले प्राकृतिक रुपमा कृतिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दै गएको निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताउनुभयो ।
निकुञ्जको पछिल्लो गणनाअनुसार निकुञ्जमा पाटेबाघको संख्या ४१ पुगेको छ । कृतिम पोखरीहरूमा ट्याङ्कर ल्याएर पानी भर्ने गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
बारा, पर्सा र मकवानपुर जिल्लाको कूल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरू पाइन्छन ।
पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुञ्जको जङ्गलभित्र एक दर्जन ‘भ्यु टावर’ समेत बनाइएको छ । यसैगरी पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् । निकुञ्जभित्र ‘फायर–लाइन’ पनि भएकाले हात्तीको जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीमा जङ्गल सफारी गर्नसक्ने व्यवस्थासमेत मिलाइएको प्रमुख खतिवडाको भनाई छ ।निकुञ्जलाई मधेस प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै प्रचारप्रसारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।

Leave a Reply