निजगढ, १५ भदौँ– उद्योग वाणिज्य संघ निजगढ, होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ निजगढले पसल, व्यवसाय र होटल पुर्णरुपमा खोल्न पाउनु पर्ने माग राखेर निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाललाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरस महामारी संक्रमणको नाममा जारी लकडाउन र निषेधाज्ञाको कारण व्यवसाय धरासायी बनेको भन्दै आगामी भर्दै १७ गतेसम्म आफनो माग पुरा नभए जारी निषेधाज्ञाको उल्लघंन गर्दौ १८ गतेबाट नगरभित्रका सबै व्यवसायहरु स्वघोषित रुपमा संचालनमा ल्याउने व्यवसायीहरुले बताएका छन ।

‘लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाको कारण जनजीवन अस्तव्यस्त बनेको र व्यवसायीहरु सबै भन्दा बढी मर्कामा परेका छन,  व्यवसायीहरुको अवस्था नाजुक बन्दै गएको र सधै यसरी थेग्न नसकिने भएकोले कठोर निर्णय लिन बाध्य भएका छौं ।’ ज्ञापनपत्रमा भनिएको छ। लकडाउनले गर्दा राेगले भन्दा पनि भाेकले मर्ने दिन नजिक अाइसकेकाे व्यवसयिहरुकाे भनाइ छ ।

वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, होटल संघका प्रभात सिग्देल र पुस्तक तथा स्टेशनरी संघका सागर थोकरले हस्ताक्षर गरेर बुझाइएको ज्ञापनपत्रमा व्यवसाय बन्द गर्नुपर्दा ऋणको व्याज, घर भाडा, कर्मचारी तलब,पानी र विजुलीको महशुल, परिवारको शिक्षा, स्वास्थ्य र पालनपोषण जस्ता समस्याले व्यवसायीहरु बौलाउने वा अत्माहत्या गर्ने अवस्थामा पुगेकोले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी व्यवसाय संचालनको लागि सहजीकरण गरिदिन अनुरोध पनि गरिएको छ ।

व्यवसायीहरुले उद्योग, व्यापार र व्यवसायलाई सहज संचालन गर्नका लागि कार्यविधि निर्माण गरी अनुगमनका उपायहरुसमेत अपनाउन स्थानीय प्रशासन, सुरक्षा निकायसंग सहकार्य गर्ने प्रतिवद्धतासमेत ज्ञापनपत्रमा व्यक्त गरेका छन ।

ज्ञापनपत्र बुझदै नगर प्रमुख खनालले कोरोना संक्रमणको जोखिम कायमै रहेको र सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको विषयमा आफुहरुले अहिले नै केही भन्न नसक्ने बताउनुभयो । तर पर्याप्त सुरक्षा उपाय र अन्य मापदण्ड पुरा गरेर व्यवसाय खोल्न सकिने उहाँकाे पनि भनाइ थियाे

निजगढका अगुवा व्यवसायी ज्ञानेन्द्र चौलागाईसहितको टोलीले नगरपालिका कार्यालय पुगेर नगर प्रमुख खनालाई ज्ञापन पत्र बुझाएको हो । वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो । त्यसैगरी व्यवसायीहरुले इलाका प्रहरी कार्यालय निजगढमार्फत जिल्ला प्रशासन कार्यालयमा पनि सोही ज्ञापनपत्र बुझाएका छन ।

Leave a Reply