सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारी लामो समयदेखि नगरपालिकामा हाजिर नभएपछि कार्यालयको सेवा प्रभावित बनेको छ ।मन्त्रालयबाट २ हप्ताअघि सिम्रौनगढमा खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अधिकारी कार्यालयमा अनुपस्थित भएपछि नगरपालिकाको विकास निर्माण र दैनिक काम प्रभावित बनेको हो ।

नगरपालिकामा बिरबहादुर साह लहेराले ४ महीनाअघिदेखि निमित्त प्रम्ुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । कार्यालय प्रमुख अधिकारीको अनुपस्थितिमा निमित्त प्रशासकीय अधिकृतले लहेराले पालिकाको रकम दुरुपयोग र अनियमितता गरेर हाल भारत भ्रमणको गएको स्थानीयले बताएका छन । लहरा स्वास्थ्य शाखा प्रमुख बिजय ठाकुरलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मा दिएर भारततर्फ भ्रमणमा लाग्नुभएको हो ।

यता, सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुखको जिम्मेवारी पाउनुभएका ठाकुरले पनि सामाजिक विकास शाखाको प्रमुखको जिम्मेवारी कार्यालयका सातौ तहका अर्का कर्मचारी जितेन्द्र यादवलाई दिनुभएको छ । यसअघि समाजिक विकास शाखा प्रमुखको जिम्मेवारी नन्दकिशोर साहले सम्हाल्दै आउनुभएको थियो ।
नगर प्रमुख किशोरीप्रसाद कलवारको निर्देशनमा सातौं तहका कर्मचारीलाई समाजिक विकास शाखाको जिम्मेवारी दिइएपछि कार्यालयका अन्य कर्मचारीहरु असन्तुष्ट देखिएका छन । अघिल्ला शाखा प्रमुख साहलाई जिम्मेवारीबाट हटाउनु थप रहस्यमय मानिएको छ ।
आर्थिक वर्ष ०८२÷०८३ सकिन दुई महिना मात्र बाँकी रहँदा पुराना कर्मचारीको खोसेर नयाँलाई जिम्मेवारी दिइनुले शंका उत्पन्न गराएको कार्यालयका कर्मचारीहरुले बताएका छन ।निमित्त कार्यालय प्रमुख लहेरा कार्यालयको काम छोडेर अधिकांश समय बिदा बस्ने, कार्यालयमा हाजिर भएको दिनमा पनि ढिलो आएर चाँढै फर्किन गरेको सेवाग्राहीहरुको आरोप छ ।

प्रशासनिक अन्योल भोग्दै आएको सिम्रौनगढ नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतमा लामो समयपछि पाएको उपसचिव पनि कार्यालयमा हाजिर नभएपछि नगरका सेवाग्राहीको सेवा प्रभावित हुनुको साथै स्थानीय तहको प्रशासनिक नेतृत्व सुदृढ गर्ने सरकारी योजनासमेत अलपत्र परेको छ ।सरकारले स्थानीय तहको प्रशासनिक नेतृत्व सुदृढ गर्न हालै मात्र २३ जना उपसचिवको सरुवा गरेको थियो । सिम्रौनगढमा सरुवा हुनुभएका अधिकारी यसअघि रक्षा मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो ।

Leave a Reply