करिब चार वर्षअघि विश्वमै मानव जातिको अस्तित्व जोगाउनै मुस्किल पर्ने गरी फैलिएको कोरोना भाइरस नेपालमा शून्यमा झर्दा आमनेपालीमा केही राहत मिलेको थियो । एक महिनादेखि फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमणका कारण झन्डै तीन महिनापछि ७८ वर्षीय एक पुरुषको काठमाडौंको एक सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढिरहेको र मृत्युसमेत हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा अपनाउनुका साथै खोप लगाएर सुरक्षित हुन अपिल गरेको छ ।सर्वसाधारणले पनि समयमै स्वास्थ्य सुरक्षा अपनाउनेतर्फ लाग्नु नै बुद्धिमानी हुनेछ । यति बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भागवण्डामा राजनीतिक दलहरुबीच कुरा नमिल्दा यो मन्त्रालय मन्त्रीविहीन भएको अवस्था छ । यहाँ मान्छे मर्नुभन्दा पनि काल पल्किनुलाई निर्मूल पार्नेतर्फ सबैको ध्यान पुग्नु जरुरी छ ।नेपालमा कोरोनाको नयाँ भेरियन्ट १.१६ पत्ता लागेसँगै भारतमा पनि यही भाइरस फैलिएको र खुल्ला सिमानामा स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश दिइएको स्वास्थ्य मन्त्रालयले सूचित गरे पनि कोरोना भाइरस रोकेर रोक्न नसकिने रुपमा विगतमा पनि फैलियो, अहिले पनि सोही रुपमा फैलिँदै छ । यतातर्फ सरकारको खासै ध्यान पुगेको पाइन्न । यति बेला राजनीतिक दलका नेताहरुलाई सत्ता र कुर्सीमोहले छोपेको छ । हुनत वीरगन्ज नाका लामो समय बन्द हुँदा यसले अर्थ क्षेत्रमा नराम्रो असर गरेको थियो । फेरि कोरोनाको नाउँमा सीमा बन्द गरिदाँ समस्या बढ्नेछ त्यसैले अब बढ्दो कोरोनाको त्रास कम गर्न सबैले आफ्नो ठाउँबाट ध्यान दिन आवश्यक देखिन्छ ।
















