वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको पानीको समस्या समाधानका लागि विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।आइतवार जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ एकाइ समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादवले पानीको समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारेको बताउनुभएको हो ।
मन्त्री यादवले भन्नुभयो, “पानीको समस्याले जनतालाई निकै दुःख दिइरहेको छ, र म यो विषयमा गम्भीर छु । मन्त्रालयले यसलाई दीर्घकालीन रूपमा समाधान गर्न ठोस योजनाहरू तयार गरिरहेको छ । हामीले यसमा विशेष ध्यान केन्द्रित गरेका छौँ र शीघ्र समाधानको प्रतिबद्धता लिएका छौँ ।” उहाँले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजनाहरू अघि बढाइने जानकारी समेत दिनुभयो ।
साथै, जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले पार्टीको नीतिगत रूपमा जनताको सेवा र कल्याणका कार्यमा आफू निरन्तर सक्रिय रहेको र जसपाले आगामी चुनावमा जनताको समर्थन पाउनसक्ने गरी सङ्गठनलाई सुदृढ बनाइने बताउनुभयो । “हामी पार्टीको सङ्गठनलाई बलियो बनाउँदै जनतासँगको संवादलाई अझ सशक्त बनाउँदै छौँ । जसपा जनताका हकहितको मुद्दामा निरन्तर क्रियाशील रहने छ ।” उहाँले भन्नुभयो ।कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले स्थानीय विकास र जनसेवामा आफ्नो पूर्ण समर्पण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वीरगञ्जको समृद्धि र विकासको लागि म र मेरो टिम निरन्तर क्रियाशील छौँ । जनताको समस्या समाधान हाम्रो पहिलो प्राथमिकता हो र हामी त्यसको समाधानमा तदारुकता देखाइरहेका छौँ ।”
मेयर सिंहले कार्यक्रममा उपस्थित कार्यकर्तालाई पार्टीको साझा उद्देश्यलाई साकार बनाउन एकतामा बाँध्न आग्रह गर्दै जनताका आवश्यकतामा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “पार्टीको बलियो सङ्गठन र जनतासँगको सहकार्यले मात्र विकास सम्भव छ ।” उहाँले थप्नुभयो ।कार्यक्रममा जसपाका वीरगञ्ज महानगर समितिका सचिव फरिद आलम, जिल्ला सदस्य लालदेव यादव, वडा एकाइ समितिका अध्यक्ष अरुण यादव, सचिव श्यामसुन्दर चौरसिया, माजिद मियाँ, मुस्तफा आलम, कलिम मियाँ, प्रभु चौरसिया, सम्सुल हक मियाँ, आशिक आलमलगायतका स्थानीय नेता र कार्यकर्ताहरूको उपस्थिति थियो । कार्यक्रममा समृद्धि र विकासका लागि पार्टीले चाल्नुपर्ने कदमहरूबारे महत्त्वपूर्ण छलफल पनि भएको थियो ।
















