मान्छेहरूले बुझेका थिए – सांसद् हुँदाको समयमा कृष्णप्रसादले सहिदको सन्तानका लागि छुट्याइएको छात्रवृत्तिको कोटामा आफ्नै छोरो जगन्नाथलाई डाक्टरी पढाउन विदेश पठाएको कुरा । तर बुझेर पनि बुझ पचाउँथे, कृष्णप्रसादको विरोध गर्न सक्दैनथे ।

“खै त्यो भाइमारा कहाँ छ ? साला जगने !” बाहिरको आवाज झ्यालबाट छिर्यो ।

डाक्टर जगन्नाथ बिरामी जाँच्ने कोठामा एउटा बिरामीको जाँचपड्ताल सकेर अर्को बिरामीको प्रतीक्षा गर्दै थिए । उनले झ्यालबाट बाहिर प्राङ्गणतर्फ दृष्टि दिए । त्यसपछि कुर्सी घुमाए र ढोकासामु उभिरहेकी आफ्नै स्टाफ नर्सतिर फर्केर निस्तेज स्वरमा भने, “आज फेरि त्यो बौलाहा आएछ हगि !”

जुन नर्स डा. जगन्नाथका सामु थिई, ऊ केही समयदेखि यता त्यहाँ कार्यरत थिई । उसले जिज्ञासा राखी, “अस्ति नै त पुलिसले समातेर लगेको थियो नि, हैन र डाक्टर सा’ब ?”

“पुलिसले पनि कतिपटक लगोस् ! दुईपटक त लगेकै हो नि, बिना अपराध आजीवन कारावास राख्न पनि नमिल्ने”, निन्याउरो मुद्रामा जबाफ फर्काए डाक्टर सा’बले ।

“यसका आफ्ना मान्छे कोही रहेनछन् कि, आफन्त भए त मेन्टल हस्पिटल लैजान्थे होलान् नि हगि डाक्टर सा’ब !” नर्सले डाक्टर सा’बतिर जिज्ञासु नजर दिई ।

 

“गरेका हुन् । घरकाले सबै उपाय गरेका हुन् । पुनर्स्थापना केन्द्रदेखि मेन्टल हस्पिटलसम्म सबै चहारिसकेको छ यसले ।” निकै निरासाको भावमा बोले डाक्टर सा’ब ।

जो हस्पिटलको भवनतिर फर्केर बर्बराउँदै थियो, त्यसको नाम थियो आजाद । केही दिनपहिले पनि यसरी नै हस्पिटलको प्राङ्गणमा आएर नानाभाँती बोलेको थियो । त्यस समयमा ऊ रक्सीको नसामा थियो । रक्सी खाएर हल्ला गरेको निहुँमा पुलिसले उसलाई थानामा पुर्याएको थियो । पुलिसले थानामा थुनेपछि डा. जगन्नाथको टाउको हलुङ्गो भएको थियो तर केही दिनमै छाडिदियो ।

सुरूसुरूमा आफ्नै इज्जत जाने भयले एकदुईपटक त डा. जगन्नाथले हजार-पाँच सय रुपियाँ दिन लगाएर आफ्नो हस्पिटलको प्राङ्गणबाट पन्छाउने गरेका पनि थिए तर कति दिइरहनु ! साध्यै भएन । दस–पन्ध्र दिनको अन्तरालमा देखापर्न थाल्यो । अचाक्ली नै गर्न थालेपछि भने उनले पैसा दिन छोडेका थिए ।

पहिलेको तुलनामा आजादले रक्सी त कमै पिउँथ्यो तर मानसिक सन्तुलन भने निकै कमजोर बन्यो । रक्सी पिएपछि बाटोघाटो जहाँ पनि लड्ने, सुत्ने, बर्बराउने र अश्लील–अश्लील शब्दहरु बोलेर कुन्नि के जातिलाई भन्दा देख्नेलाई लाजजस्तै वातावरण बनाउन थाल्यो । आमाले उपचारका लागि हरप्रयत्न पनि गरेकै हुन् तर सकिनन्, हार खाएपछि उनले छोडिदिइन् ।

“खै, त्यो जगने छैन कि क्या हो ? यसका बाउछोरालाई त म कुनै हालतमा नि छोड्दिन ।” आजाद हस्पिटल अगाडिको प्राङ्गगणमा आएर यसरी नै बोल्थ्यो । डा. जगन्नाथलाई उसले जगने भन्न थालेको थियो । र अहिले पनि ऊ यही सम्बोधनमा बम्किँदै थियो ।

अहिले सहरको नामी डाक्टर बनेको जगन्नाथ कृष्णप्रसादको एक मात्र छोरो थियो । डा. जगन्नाथले त्यस सहरमा ठुलै लगानी गरेर नर्सिङ होम चलाएको थियो । सहरका अति व्यस्त   डाक्टरहरुमध्ये ऊ पनि एक थियो । बिहान आठ बजेदेखि राति अबेरसम्म बिरामीको जाँचपड्ताल र अप्रेसनकै क्रममा व्यस्त रहन्थ्यो । बीचमा एक-डेढ घण्टा खाना खानका लागि मात्रै उसले समय छुट्याएको थियो, अन्यथा उसलाई समय नै थिएन । बिहान जुरूक्क उठी हातमुख धोएर नर्सिङ होम पुग्थ्यो र दिउँसो एक-दुई बजेको समयमा मात्रै खाना खान ऊ घर फर्कन्थ्यो । पुनः जान्थ्यो र राती फर्कँदा बाह्र-एक बज्थ्यो ।

सहर वरिपरिका छिमेकी जिल्लाहरुबाट पनि उसको नर्सिङ होममा बिरामीहरुको भीड लाग्थ्यो । नर्सिङ होम सहरको मुटुमै थियो । बसपार्कको नजिकै थियो । विभिन्न जिल्लाबाट आउने बिरामीहरु बसपार्कमा बसबाट ओर्लनासाथ बिना सवारी साधन पनि उसको नर्सिङ होममा पुग्न सक्ने हुँदा त्यो निकै चलेको थियो ।

आजाद जसको मानसिक सन्तुलन गुमेको थियो, उसको वास्तविक नाम देवेन्द्र थियो । आजाद त उसले क्याम्पसमा आईएस्सी पढ्न सुरू गरेपछि राखेको नाम थियो । क्याम्पस छिरेपछि ऊ राजनीतिक रुपमा पनि केही सचेत बन्न पुगेको थियो । उसले आईएस्सी राम्रैसँग पास गरेको थियो तर बिएस्सीको तेस्रो वर्षमा पुग्दा उसको मानसिकतामा गडबडी आयो र बिएस्सी पास गर्ने सपना अधुरै रहन पुग्यो ।

आजाद पढाइमा असाध्यै सिपालु । सानै उमेरमा पनि तीक्ष्ण बुद्धिको । मिहिनेती पनि थियो । स्कुलका कक्षाहरुमा जहिले पनि प्रथम । कक्षा एकदेखि दससम्म ऊ कहिल्यै दोस्रो भएन । उसका बाबु सूर्यप्रसाद स्कुलका मास्टर । गाउँमा कुरा काट्नेहरुले त सूर्यप्रसादले आफ्नै छोरालाई फस्ट बनाएछन् पनि भन्थे तर एसएलसीमा समेत त्यस स्कूलका पास भएका बयालिस जना विद्यार्थीमध्ये सबैभन्दा धेरै अङ्क ल्याउने उही नै भयो ।

कृष्णप्रसाद र सूर्यप्रसाद दाजुभाइ । उनीहरु एउटै बाबुका छोरा थिएनन् । दाजुभाइका छोरा थिए । उनीहरुका हजुरबाबु एउटै थिए । कृष्णप्रसादको छोरो जगन्नाथ र सूर्यप्रसादको छोरो आजाद । उमेरमा जगन्नाथभन्दा पाँच महिनाले जेठो थियो आजाद । स्कुलमा आजाद र जगन्नाथ दुवै सँगै भर्ना भएका थिए । सँगै पढ्थे । दुवैको घर पनि नजिक नजिक थियो । बारीका दुई कान्लाको फरकमा थियो उनीहरुको घर । सँगै स्कुल जान्थे ।

एसएलसीसम्म सँगै पढेपछि उच्च शिक्षा हासिल गर्ने क्रममा मात्रै उनीहरु भिन्दाभिन्दै क्याम्पसमा पुगेका थिए ।
माओवादीहरुको सशस्त्र युद्ध चलेको समय थियो । द्वन्द्वले तीव्र गति लिएको थियो । सूर्यप्रसाद माओवादी जनयुद्धलाई नैतिक रुपमा समर्थन गर्ने शिक्षक थिए । परिआउँदा आर्थिक सहयोग पनि गर्थे । पार्टीको सदस्य थिएनन् तर शिक्षक सङ्गठनमा थिए । पार्टीको सदस्य नभए पनि पार्टीलाई आर्थिक, भौतिक, नैतिक जे आवश्यक पर्छ त्यो सहयोग गर्थे । उनी सर्वहारा वर्गको मुक्तिको सपना देख्ने शिक्षक थिए । ढिलोचाँडो युद्धमा सरिक हुनैपर्छ भन्ने उनको मनोभाव थियो तर घरायसी परिवेशले साथ दिएको थिएन । माओवादीले जिल्ला सदरमुकाम आक्रमण गरेको पर्सिपल्ट साँझ तत्कालीन शाही सेनाले उनलाई घरबाट खोल्सैखोल्सा घिसार्दै तल ठुलो खोलाको किनारमा लगेर गोली हानेको थियो । त्यति बेला सरकारी रेडियो र टेलिभिजनले “जिल्ला सदरमुकाम आक्रमणको योजनाकार सूर्यप्रसाद भनिने आतङ्ककारीको दोहोरो भिडन्तमा मृत्यु” भनेर समाचार फुकेको थियो । माओवादी जनयुद्धका क्रममा उनी त्यस गाविसको पहिलो सहिद बन्न पुगेका थिए ।

सूर्यप्रसाद माओवादीका समर्थक भए पनि उनका भाइ कृष्णप्रसाद माओवादीसमर्थक थिएनन् यद्यपि उनी निकै पहिलेदेखि पार्टी राजनीतिमा थिए । पञ्चायती कालखण्डमा क्याम्पस पढ्ने क्रममै राजनीतिमा लागेका कृष्णप्रसादले ऊ जमानामा केही समय शिक्षक भएर पनि काम गरेका थिए । दुई वर्ष जति शिक्षण पेसा अपनाएका कृष्णप्रसाद शिक्षण पेसा छोडेर पार्टीकै नीतिबमोजिम केही समय भूमिगत भएका थिए । बहुदलीय व्यवस्थाको आगमनसँगै उनी खुला रुपमा आफ्नो पार्टीमा क्रियाशील थिए, केन्द्रीय नेतामै गनिएका थिए । छोरो जगन्नाथले एसएलसी सकेपछि कृष्णप्रसादले गाउँको थातथलो छोडेर जहानपरिवारलाई सहरमा राखेका थिए ।

आफू पूर्णकालीन राजनीतिमा होमिएका थिए । दाजु सूर्यप्रसादलाई माओवादीको नाममा हत्या गरिँदा भाइ कृष्णप्रसादको पार्टी सत्तासीन थियो र त्यसै समयमा सांसद थिए कृष्णप्रसाद । सांसद बन्ने अवसर उनलाई त्यही एकपटक मात्र प्राप्त भएको थियो । त्यसपछि भने उनले सांसद लड्नका लागि एकपटक त पार्टीबाट टिकट पाएका थिए तर चुनाव जित्न भने सकेनन् । यद्यपि राजनीतिमा उनको हैसियत भने माथि नै थियो ।

छोरो जगन्नाथ बिएस्सी पढ्दापढ्दै पूर्ण छात्रवृत्तिमा डाक्टरी पढ्न विदेश गयो । त्यहाँबाट ऊ एमबिबिएस सकेर काठमाडौँ फर्क्यो र समयमै एमडी पनि गर्यो । अहिले ऊ यस सहरको नामी डाक्टर भएको छ । सबैका नजरमा ऊ राम्रो डाक्टरका रुपमा गनिएको छ । उसकोमा बिरामीहरुको निकै चाप हुन्छ । कमाइ पनि राम्रै गर्छ । सबैले उसलाई डाक्टर जगन्नाथका नामले चिन्छन् ।

यता सूर्यप्रसादको छोरो आजादले आईएस्सी सकेपछि बिएस्सी पढ्ने क्रममा निकै हण्डर खानु पर्यो । बिएस्सीको पहिलो वर्षमै उसलाई पढाइखर्च अभाव हुन थाल्यो । धेरैजसो आफ्नै गाउँमा आएर बस्नु पर्थ्यो । कहिलेकाहीँ मात्र सहरमा आई साथीको डेरामा बसेर कलेज जान्थ्यो । दुई साना भाइबहिनी थिए, एउटी आमा । अस्थायी दरबन्दीमा कार्यरत बाबुको हत्या भएपछि आम्दानीको स्रोत बन्द भएको थियो । कमाइ थिएन । खेतीपातीबाट उब्जेको अन्नले जेनतेन वर्षभरिलाई गुजारा चल्थ्यो ।

आजादले बिएस्सी पास गर्नै सकेन । गाउँमा हल्लिएर हिँड्न थाल्यो । छोरो हल्लनदास भएर हिँडेको देख्दा आमा चिन्तित थिइन् । केही समय माओवादीहरुसँगै जनयुद्धमा पनि हिँडेको थियो तर त्यहाँ पनि टिक्न सकेन ऊ ।
पछि आफैंले पढेको स्कुलमा उसले निजी स्रोतमा पढाउने काम पायो । निम्नमाध्यमिक तहको विज्ञान विषय पढाउन थाल्यो उसले । स्कुलमा पढाउँदै गरेको ठिक यही समयबाट उसले रक्सी पिउन सिक्यो र क्रमशः रक्सीको मात्रा पनि बढाउँदै लान थाल्यो । अधिकांश शिक्षकहरु सामूहिक रुपमा रक्सी पिउँथे, तास खेल्थे, मोजमस्ती गर्थे । प्रत्येक शुक्रबार एक बजेपछि खसी काट्थे र रक्सीको खोलै बगाउँथे । ऊ पनि यही संस्कृतिमा रमाउन थाल्यो, यही समूहमा झ्याम्मिन थाल्यो ।

उसले त्यहाँ पढाउन थालेको केही वर्ष भएको थियो । त्यही स्कुलमा निम्न माध्यमिक तहको दरबन्दी आयो । उक्त रिक्त दरबन्दीमा गाविसका निवर्तमान अध्यक्षले आफ्नै भतिजालाई नियुक्ति दिलाई काममा खटाए । उसको निजी स्रोतको मास्टरी जागिर खोसियो । गाविस अध्यक्षको हैकम चल्ने त्यस गाउँमा उसको पक्षमा खुलेर कोही पनि बोल्न सकेनन् । बोल्यो कि पोल्योको अवस्था थियो । सत्ताका पक्षधरहरुको विरोध गर्नेहरुलाई गाविस अध्यक्ष, वडाध्यक्ष लगायतका स्थानीय शासकहरुले माओवादी आतङ्ककारीको बिल्ला भिराएर शाही सेनाको जिम्मा लगाउँथे । यस अर्थमा पनि आजादमाथि अन्याय भएको थाहा पाउँदासमेत कोही बोल्न सकेन । नौ र दस कक्षामा पढ्ने केही विद्यार्थीले भने हामीलाई आजाद सर नै चाहिन्छ भन्ने कुरा राखेका थिए तर उनीहरुको स्वरलाई हेडमास्टर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलेर विद्यालयको प्राङ्गणमै सीमित गराइदिए ।

अब क्याम्पसको पढाइ छोडेको धेरै वर्ष भइसकेको थियो । उसलाई पुनः क्याम्पस गएर भर्ना भई पढ्न मन लागेन । शिक्षक बनेर पढाउने क्रममा उसले चुरोट तान्न र रक्सी पिउन सिकेको थियो । खै किन हो कुन्नि, गाँजा भने उसले तान्दैनथ्यो । स्कुलमा चार बजे छुट्टी भएपछि आफ्नै अरू दुई-चार सहकर्मीका साथ भट्टी छिर्ने गर्थ्यो । स्कुलको प्राङ्गणसँगै थियो माइली दिदीको रक्सी भट्टी, यद्यपि त्यहाँ चिया पनि पाक्थ्यो । भट्टीको ढुङ्गामाटाको गाह्रो स्कुल कम्पाउन्डकै पर्खालमा जोडिएको थियो । छानामा जस्ता पाताहरु तेर्स्याइएको थियो र ती जस्ता पाता हावाहुरीले नउडाऊन् भन्ने उद्देश्यले ढुङ्गाले अँठ्याइएका थिए । भित्रपट्टि दुईवटा कोठा । एउटामा माइली दिदीकै परिवार सुत्ने गर्थ्यो भने अर्को एउटा विशेष ग्राहकहरुका लागि छुट्याइएको थियो र त्यहाँ खानपानका साथै तास खेल्नका लागि समेत बिचमा गलैँचा बिछ्याएर सहज तुल्याइएको थियो । मास्टरहरु बस्नखानका लागि प्रायः यही कोठामा हुन्थे । मास्टरहरुका साथमा कहिलेकाहीँ इन्डियन आर्मीबाट रिटायर भएका एकादुई भूतपूर्व लाहुरेहरु पनि मिसिन आइपुग्थे । कहिलेकाहीँ त रक्सी र तासमा रातै पनि बिताइदिन्थे । आजाद यसरी बानी पर्दै गयो कि उसले चाहेर पनि रक्सी छुटाउन सकेन । हुँदाहुँदा यतिसम्म भयो कि रक्सी नपिउँदाको रात ऊ निदाउनै सक्दैनथ्यो । लोकल एक-डेढ बोत्तल पिएपछि मात्रै उसलाई निद्रा लाग्थ्यो ।

गाउँमा ऊ एक नम्बरको जँड्याहा बनेर निस्क्यो । उसले जति धेरै रक्सी अरु कसैले पनि पिउँदैनथे । धेरैले धेरैपटक उसलाई नपिउनका लागि सल्लाहा पनि दिएकै हुन् तर ऊ भन्थ्यो “मेरो बेथा तिमीहरुलाई के थाहा ? मैले रक्सी पिउनुको पनि कारण छ, विनाकारण मैले पिएको होइन ।”

बेला बेला ऊ गाउँबाट हराउँथ्यो । कहाँ पुग्थ्यो, के गर्थ्यो, कसैलाई थाहा हुँदैनथ्यो । कहिले पन्ध्र–बिस दिन त कहिले महिना दिनको अन्तरालमा घर फर्कन्थ्यो । राम्रोसँग खान नपाएर हो वा रक्सीले खाएर हो घर फर्केर आएको समयमा शरीर निकै कमजोर देखिन्थ्यो । आँखा गढेका र हाडमाथि छालाको लेपन लगाएको कङ्कालजस्तो शरीर ।

बिस्तारै ऊ अर्धपागल जस्तै बन्यो । जता पनि हिँडिदिने र जे पनि बोलिदिने । उसको यस्तो स्वभावले गर्दा चिनजानका मान्छेहरु पनि उसलाई देख्यो कि तर्केर हिँड्नुपर्ने वातावरणको सिर्जना भयो । गाउँलेहरुको सहयोगमा आमाले काठमाडौँसम्म पुर्याएर उपचारको प्रयास पनि गरेकै हुन् तर कुनै पनि प्रयास सफल भएन, खर्च मात्रै भयो ।

कहिले गाउँमै त कहिले सहरतिर आजादले आफूलाई घिसार्न थाल्यो । पछिल्लो समयमा ऊ सहर पसेपछि गाउँ फर्केन । गल्ली गल्लीमा भौँतारिन्थ्यो । कसैले केही दिए खान्थ्यो । नपाए जहाँ पायो त्यहीँ भोकै पल्टन्थ्यो । प्रायः उसले बसपार्कमा रहेको प्रतीक्षालयमा रात बिताउँथ्यो । बसपार्क छेउछाउका होटलबाट दिइने बासी भात र चालक-सहचालकहरुको दयामायाको दुईचार पैसाबाट उसको शरीर धानिएको थियो ।

ऊ सकिनसकी संसदीय व्यवस्थाका विरूद्धमा बर्बराउँथ्यो, बहुदलको सत्तोसराप हाल्थ्यो । “इस् तिम्रो दलीय व्यवस्था ! खै कहाँ छ बहुदल ?” समय समयमा उसले प्रश्न गर्थ्यो । मान्छेहरुसँग उसको गुनासो थियो, “मभित्रको पीडा किन बुझ्दैनन् मान्छेहरु ?” सद्धे मान्छेले जस्तै कुरा गर्थ्यो तर मान्छेहरु उसलाई बौलाहा भन्थे । उसले कृष्णप्रसाद र डा. जगन्नाथको खोइरै खन्थ्यो तर मान्छेहरुले जगन्नाथका बाबुछोराको खेदो खनेको मन पराउँदैनथे । ऊ आफूले भोगेको अन्याय सुनाउन चाहन्थ्यो तर कोही पनि उसको कुरा सुन्न चाहँदैनथे । अरूले छिः छिः र दुर् दुर् गर्न थालेपछि ऊ अझ बढी मात्रामा बर्बराउँथ्यो । बर्बराउने क्रममा उसले सत्य ओकल्थ्यो तर मान्छेहरु उसका सत्यलाई असत्य ठानिदिन्थे ।

“साला किस्ने ! आखिर तैँले सहिदको खुन चुसेरै छोडिस् है !” दाँत किटेरै बर्बराउँथ्यो ऊ । उसको बर्बराहट कसैले सुन्दैनथे । सुनेकाहरुले पनि उसलाई वास्तै गर्दैनथे । उसको बर्बराहटको अन्तर्यमा कोही पनि पुग्न चाहँदैनथे । यद्यपि मान्छेहरूले बुझेका थिए – सांसद् हुँदाको समयमा कृष्णप्रसादले सहिदको सन्तानका लागि छुट्याइएको छात्रवृत्तिको कोटामा आफ्नै छोरो जगन्नाथलाई डाक्टरी पढाउन विदेश पठाएको कुरा । तर बुझेर पनि बुझ पचाउँथे, कृष्णप्रसादको विरोध गर्न सक्दैनथे । सबै तैँ चुप र मै चुपको अवस्थामा रहन्थे ।

लेखक परिचय
नारायण मरासिनी

स्याङ्जाको ज्याग्दीखोलामा जन्मनु भएका नारायण मरासिनी सक्रिय साहित्यकार हुनुहुन्छ । उहाँका बिहेको निम्ता (कथा सङ्ग्रह २०७८), हेडसरका कथाहरू (लघुकथा सङ्ग्रह २०७१), रणभूमिबाट (कविता सङ्ग्रह २०६३), साने (खण्डकाव्य २०५६), तीजको कोसेली (तीजका गीतहरूको सँगालो २०५०) प्रकाशित छन् ।

उहाँले अनेक पुस्तक, पत्रिका तथा स्मृतिग्रन्थ सम्पादनसमेत गर्नुभएको छ । उहाँ गण्डकी साहित्य संगम (पोखरा), प्रगतिशील लेखक सङ्घ, ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाका सक्रिय सदस्यसमेत हुनुहुन्छ ।

हाल उहाँ पोखरामा बसोबास गर्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here