काठमाण्डौं,भारतले सूर्यको अध्ययन गर्न शनिवार अन्तरिक्ष यान पठाएको छ । बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट आदित्य एल–१ यान अन्तरिक्षमा पठाइएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ ।चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै भारतले आज सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाएको हो । अन्तरिक्षमा पठाएको यान सूर्यमा पुग्ने नभइ पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ र यसको लागि १ सय २५ दिन लाग्नेछ । दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा झन्डै चार गुणाले बढी हो । तर पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो ।पृथ्वी र सूर्यको दूरी १५ करोड १ लाख किलोमिटर रहेको छ । यान पुग्ने भनिएको ठाउँबाट सूर्यलाई निरन्तर रूपमा स्पष्ट देखिने इसरोले जनाएको छ । अभियानले अन्तरिक्षको मौसम केले सञ्चालन गर्छ भन्नेबारे अध्ययन गर्नेछ । यानले सौर्य आँधीको प्रक्रियाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ ।एक पटक स्थापित भइसकेपछि यो अन्तरिक्ष यानले सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ । यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको इसरोले जनाएको छ ।भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो । यसको लागत झन्डै चार करोड ६० लाख डलर लागेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here