वीरगञ्ज,वीरगञ्जका बरिष्ठ पत्रकार चन्द्रकिशोर झा ‘सेवा पुरस्कार नेपाल’ बाट पुरस्कृत हुनुभएको छ । कर्मयोगी बद्रीविक्रम थापाको १०२ औं जन्म स्मृतिको अवसरमा झा दुई लाख २२ हजार २ सय २२ रूपैयाँ राशीको पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।कर्मयोगी बद्रीविक्रम थापा स्मृती सेवा गुठीद्वारा शनिवार काठमाण्डौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०२औं स्मृति सभामा पत्रकार झा सेवा पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
खोज पत्रकारिता केन्द्र नेपालका पूर्वअध्यक्ष समेत रहनुभएका झाले आम नागरिकका मुद्दा र विषयलाई प्राथमिकताका साथ उठान गर्दै पत्रकारितामार्फत पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
पुरस्कार ग्रहण गर्दै पत्रकार झाले पत्रकारिता सत्ताको पछि लाग्न छोडेर भूँइ मान्छेको पछि लाग्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । पत्रकारिता सिद्धान्त र व्यवसायिकताबाट बिचलीत हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्तै पुरस्कारले अझै सक्रियता पूर्वक आम नागरिकका मुद्दा उठानमा ऊर्जा मिल्ने धारणा राख्नुभयो । सत्ताको संगठित सञ्जाललाई चिर्दै मान्छेहरूको मनमा पत्रकारिताप्रति रहेको डरलाई हटाउनुपर्नेमा जोड दिँदै उहाँले सर्वसाधारण नागरिकले पनि प्रश्न गर्ने साहस जुटाउने वातावरणको निर्माणमा हातेमालो गर्न आग्रह गर्नुभयो ।

कृष्णप्रसाद भट्टराईको स्मृतिमा पुस्तक किसुनजी र नियमित पत्रिका सेवा नेपालका सम्पादक हरि मञ्जु श्रीले किसुनजी र कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले नेपाली काँग्रेसको संस्थापक, वि.स. २००७ सालको आन्दोलनका अगुवा नेता, पहिलो संसदको सभामुखसमेत भएका किसुनजीको राजनीतिक योगदान अतुलनीय रहेको बताउनुभयो ।बद्रीविक्रम थापा निजी सम्पति तथा परिवारवादबाट टाढा रहेको व्यक्ति भएको बताउँदै सादा जीवन उच्च विचारका अनुयायीसमेत रहेको जानकारी गराउनुभयो । लोभ नगर्ने, मान र अपमानमा भेद नगर्ने एवम् जिम्मेवारीलाई सत प्रतिशत दिने बद्रीविक्रमको स्वभावलाई अहिलेका पुस्ताले अनुसरण र अनुकरण गर्नुपर्ने उहाँको सुझाव छ ।सोही अवसरमा दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ राशीकै बद्रीविक्रम राष्ट्र गौरव पुरस्कारबाट वरिष्ठ नेत्ररोग विशेषज्ञ एवं विश्वविख्यात व्यक्तित्व डा सन्दुक रुइतलाई पनि पुरस्कृत गरिएको थियो ।

Leave a Reply