सिमरा,बाराको सिमरामा अवस्थित जगदम्बा स्टिल, त्रिवेणी सिम्पेक्स र हुलास स्टिल लगायतका मजदुरहरू आन्दोलनमा उत्रिएका छन् ।अखिल नेपाल औद्योगिक मजदुर संघ, जिल्ला समिति बाराको अगुवाइमा मजदुरहरूले आज आफ्ना माग पूरा गराउन सिमरा बजारमा प्रदर्शनपछि ईलाका प्रशासन कार्यालय सिमरामा ज्ञापनपत्र बुझाएका छन ।
मजदुरहरूले सरकारले साउन १ गतेदेखि लागु हुनेगरी वृद्धि गरेको न्यूनतम तलब लागु गर्नुपर्ने, त्रिवेणी स्पिनिङ मिलमा श्रमिकमाथि भएको कारबाही फिर्ता गरी कारखाना सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने, सिमरास्थित जगदम्बा स्टिलमा सम्झौताअनुसार बोनस उपलब्ध गराई श्रमिकमाथिको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, प्रतिष्ठानभित्र प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने र उद्योगभित्र श्रमिकमैत्री वातावरण हुनुपर्ने लगायतका माग राखेका छन् ।
त्यसैगरी मजदुरहरूले तलब वृद्धि, सामूहिक सम्झौताको कार्यान्वयन, नियमित काममा नियमित श्रमिक राख्ने व्यवस्था लागू गर्न माग गरेका छन् । साथै उनीहरूले मजदुरहरुमाथि कारखाना व्यवस्थापन पक्षले लगाएको झुटा मुद्दा खारेज, निष्कासित मजदुरलाई पुर्नवहाली, बन्द उद्योग पुनः सञ्चालन, बोनस सम्झौता कार्यान्वयन गर्न तथा श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागू गर्न पनि माग गरेका छन् ।
मजदुरहरुको ध्यानाकर्षण पत्र बुझ्दै इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कँडेलले मजदुरहरूका समस्याका विषयमा तत्कालै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने बताउनुभयएको छ ।बारा–पर्सा औद्योगिक करिडोरमा सूर्य नेपाल, डाबर नेपालबाहेक अधिकांश उद्योगले सरकारले लागु गरेको न्यूनतम पारिश्रमिक, योगदानमा आधारित सामाजिक सुरक्षा कोष, बोनसलगायत सेवा सुविधा नदिएको मजदुरहरूको गुनासो छ ।
जगदम्बा स्टिलले २० वर्षदेखि दिँदै आएको बोनस रकम यसवर्ष सम्झौता गरेर नदिएपछि मजदुरहरू विरोधमा उत्रिएका छन् । यता, त्रिवेणी स्पिनिङमा कार्यरत १ हजार ५ सय मजदुर उद्योग बन्द भएपछि अलपत्र परेका छन् ।

















