मनोेज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको विकास–निर्माणको कामको ठेक्का लिएर काम सम्पन्न गरिसक्दा पनि पालिकाबाट रकम भुक्तानी नपाएपछि ठेकेदारहरुले गम्भीर आर्थिक समस्यामा परेको गुनासो गरेका छन ।स्थानीय राजकुमार लामाका अनुसार काम सम्पन्न भइसकेपछि पनि रकम नपाउँदा ठेकेदारहरू ऋणको भारमा थिचिएका हुन ।
यसैबीच, उपमहानगरपालिकाले शिक्षकहरूको बैठक टिटवान्टी होटलमा राख्ने सूचना सार्वजनिक गरेपछि थप विवाद उत्पन्न भएको छ । एकातर्फ आर्थिक अभावमा ठेक्काको रकम भुक्तानी गर्न नसेको अवस्थामा उपमहानगरपालिकाले मंहगो होटलमा कार्यक्रम गरेकोभन्दै आलोचना शुरु भएको हो ।
नेपाल सरकारले सरकारी कामकाज सार्वजनिक स्थान वा सरकारी संरचनामै सञ्चालन गर्नुपर्ने निर्णय गरिसकेको अवस्थामा उपमहानगरपालिकाले स्टार होटल रोज्नु नियमविपरीत भएको भन्दै आलोचना भइरहेको हो ।
उक्त विषयमा स्थानीय अगुवा, समाजसेवी तथा विभिन्न संघ–संस्थाहरूले खुलेर विरोध जनाएका छन् । तर, मेयर राजन पौडेल, उपप्रमुख तथा वडा अध्यक्षहरूले यसप्रति बेवास्ता गरेको आरोप लागिरहेको छ ।उपमहानगरपालिकाभित्र कतै विकासका नाममा गुणस्तरहीन काम, कतै ढिलासुस्ती तथा कतै अनियमितता भइरहेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् । बारम्बार गुनासो उठ्दा पनि जनप्रतिनिधिबाट अपेक्षित चासो नदेखिँदा जनताको भरोसा क्रमशः घट्दै गएको देखिन्छ ।जनप्रतिनिधि एकातिर र जनता अर्कोतिर उभिएको जस्तो अवस्था सिर्जना हुँदा जीतपुरसिमरा उपमहानगरपालिकामा विकासभन्दा विवाद र असन्तुष्टि बढ्दै गएको छ ।


















