रौतहट,रौतहटको मौलापुर नगरपालिकास्थित पतौराधाममा आयोजित मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ । मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ ।
बिहीवार मौलापुरमा मधानी महायज्ञको खर्च सार्वजनिक गर्दै नगरपालिकाले महायज्ञ शान्तिपुर्णरुपमा सम्पन्न भएको जनाएको छ । पाँच दिनसम्म चलेको मधानी महोत्सवले मौलापुरकी गौरव बढ़ाएको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले जनाउनुभएको छ ।‘मधानी महायज्ञ पाँच दिनसम्म चलेको छ । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु पतौराधाममा आएर शिवको दर्शन गर्नुभएको छ । यसले मधानी महायज्ञ र पतौराधाम अन्तर्राष्ट्रिय स्तरमै स्थापित भएको छ’, मेयर साहले भन्नुभयो, ‘मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोडभन्दा बढीको आर्थिक कारोबार भएको छ । स्थानीय व्यापारी, व्यवसायीहरु लाभाविन्त भएका छन् ।’
मधानी महायज्ञ भव्यरुपमा सम्पन्न गर्नमा सहयोग गर्ने र मधानी महायज्ञमा सहभागी भई साथसहयोग गर्ने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । भगवान शिवको बरात यात्रासहित विभिन्न कार्यक्रमका साथ सम्पन्न मधानी महोत्सवले पतौराधाम र मधानी महायज्ञ अन्तर्राष्ट्रिय स्तरमै स्थापित भएको उहाँले बताउनुभयो । लाखौंको भिडलाई व्यवस्थापन गर्दै शान्तिपूर्ण रुपमा सम्पन्न भएको मधानी महायज्ञ षडयन्त्रकारीहरुले रोक्ने प्रयास गरे पनि उनीहरु शिवको आर्शिवादले असफल भएको उहाँले बताउनुभयो ।
मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार मधानी महायज्ञमा आरति, पूजा, पूजारी तथा पूजन सामाग्रीमा ६८ हजार, रंगरोगन, मन्दिर तथा मञ्च सजावट, झण्डा आदिमा एक लाख ७२ हजार पाँच सय, टेण्ड, कुर्सी, लाईट, साउण्डमा नौ लाख ७१ हजार, आठ सय, प्रचारप्रसारमा दुई लाख ६० हजार, होडिंग बोर्ड, व्यानर, पोष्टरमा दुई लाख ५५ हजार, पुरातात्विक महादेव मन्दिरको एसिपी बोर्ड प्यानल सहित गोल्डेन स्टील लेटरको बोर्ड निर्माणमा एक लाख ३५ हजार खर्च भएको नगरपालिकाले जनाएको छ ।



















