सखुवा प्रसौनी, २१ बैशाख । डेंगु, मलेरिया लगायत कीटजन्य रोगहरूको जोखिम बढ्दै गएको अवस्थामा सखुवा प्रसौनी गाउँपालिकामा सरोकारवालाहरूलाई लक्षित गर्दै आयोजित अभिमुखीकरण कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ । कार्यक्रमले समुदायमै आधारित रोकथाम उपायहरूलाई प्राथमिकता दिँदै जनचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण सन्देश दिएको छ ।
कार्यक्रममा प्रशिक्षण दिन आउनुभएका डाक्टर निरज कुमार सिंहले डेंगु तथा मलेरिया नियन्त्रणका लागि परम्परागत सोचभन्दा फरक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले “लामखुट्टे मार्नेभन्दा पनि त्यसको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्नु नै दीर्घकालीन समाधान हो” भन्ने सुझाव दिनुभयो । उहाँका अनुसार घर वरिपरि जमेको पानी, फोहर भाँडा, टायर, ड्रम, गमला जस्ता स्थानहरू लामखुट्टेको प्रमुख प्रजननस्थल हुने भएकाले यस्ता ठाउँहरू नियमित रूपमा सफा गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।
डा. सिंहले रोगको लक्षण देखिएपछि आत्तिनु भन्दा तुरुन्त स्वास्थ्य संस्थामा गई परामर्श लिन आग्रह गर्नुभयो । उहाँले आफूखुसी औषधि सेवन गर्दा स्वास्थ्यमा थप जटिलता आउन सक्ने भएकाले चिकित्सकको सल्लाहअनुसार मात्र उपचार गर्नुपर्ने बताउनुभयो । साथै, समुदायस्तरमा सचेतना फैलाउन सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
सखुवा प्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सखुवा प्रसौनी गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्मिला बिष्ट महतो , प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव लगायतले पनि आफ्नो धारणा राख्दै यस्ता कार्यक्रमले समुदायलाई रोगप्रति सजग बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका स्वास्थ्य प्रमुख राजेश रौनियारले गर्नुभएको थियो । साथै कार्यक्रममा सहभागीहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै आफ्नो घर, टोल र समुदायलाई सफा राख्न प्रतिबद्धता व्यक्त गरेका थिए ।


















