काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा बुधवार भएको खेलमा पुलिसले कोशीलाई ४–० गोलले हरायो । पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लवती र अमृता जैशीले समान १ गोल गरे ।
यो जीतसँगै पुलिस ४ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।
प्रतियोगितामा दोस्रो खेलमा सङ्कटा फुटबल क्लबले कर्णाली प्रदेशलाई हराउँदै पहिलो जीत दर्ता गराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा बुधवार नै भएको दोश्रो खेलमा सङ्कटाले कर्णालीलाई दुई गोलले हरायो ।
सङ्कटाका लागि सेलिना अनिमा र टोम्लोफेले समान एक गोल गरे । सङ्कटा चार अङ्कका साथ छैठौं स्थानमा उक्लिएको छ । कुनै पनि खेल नजितेको कर्णाली तालिकाको नवौं स्थानमा छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।


















