जनकपुरधाम, भदौ १६ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक रहेको बताउनुभयो ।

जनकपुरधाममा सम्पन्न “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम”लाई प्रमुख अतिथि हुँदै सम्बोधन गर्दै मन्त्री लेखीले विपद् व्यवस्थापनलाई केवल औपचारिकता नभई जीवन र सम्पत्तिसँग प्रत्यक्ष सरोकार राख्ने विषयका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो । “विपद् व्यवस्थापन जिम्मेवारीपूर्वक गर्नु हाम्रो सबैको कर्तव्य हो, यसलाई उपेक्षा गर्ने ठाउँ छैन,” मन्त्री लेखीले भन्नुभयो ।

उहाँले आपत्कालीन अवस्थालाई रोकथाम, तयारी, प्रतिकार्य र पुनःस्थापनासम्म सम्पूर्ण चरणमा तीनै तहका सरकार र सरोकारवाला निकायले एकसाथ हातेमालो गर्नुपर्ने औंल्याउनुपने भन्ने कुरामा जोड दिनुभयो । साथै नागरिक समाज, युवा, महिला समूह र समुदाय स्वयं पनि सचेत र सक्रिय भएर विपद् न्यूनीकरणका काममा जुट्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सरोकारवालाबीच कानुनी संरचना, सामाजिक समावेशिता, लैंगिक समानता, राजनीतिक अधिकार, दिगो विकास र सुरक्षित समाज निर्माणका विषयमा गहन छलफल भयो। सहभागीहरूले विपद् व्यवस्थापनलाई समग्र विकाससँग जोडेर अगाडि बढाउँदा मात्र दीर्घकालीन उपलब्धि हासिल हुने निष्कर्ष निकाले।

यो अभिमुखीकरण कार्यक्रम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँले आयोजना गरेको हो। यसलाई UN Women को प्राविधिक सहयोग तथा मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयको सहकार्यमा सम्पन्न गरिएको थियो।

कार्यक्रमले प्रदेशका विभिन्न तहका नीति निर्माता, सुरक्षा निकाय, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाबीच साझा समझदारी र कार्ययोजना बनाउन सकारात्मक भूमिका खेलेको सहभागीहरूको भनाइ थियोे । मन्त्री लेखीले समापन गर्दै भन्नुभयो , “विपद् न्यूनीकरण र व्यवस्थापनमा हाम्रो तयारी नै हाम्रो बल हो। सहकार्य, समन्वय र साझा प्रयासमार्फत हामीले सुरक्षित, दिगो र समावेशी समाज निर्माण गर्न सक्छौं।”

Leave a Reply