सर्लाही,वन तथा वातावरण मन्त्री प्रदीप यादवले जमिन खाली भएर बजेटको सुनिश्चितता भएपछि मात्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख काटन अनुमति दिने बताउनुभएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा सागरनाथ वन परियोजनाव्दारा निर्मित सशस्त्र वन रक्षक ब्यारेकको उद्धाटन गर्दै मन्त्री यादवले शनिवार सो कुरा बताउनुभएको हो ।

प्रस्तावित विमानस्थल क्षेत्रभित्र पर्ने काँटगाउँमा मुआब्जा वितरण भइसकेको र टाँगियाबस्तीमा पनि मुअब्जा वितरण गरेर जमिन खाली भएपछि विमानस्थल निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता गरेर मात्रै रुख कटानका लागि वन मन्त्रालयले अनुमति दिने मन्त्री यादवले बताउनुभयो । मन्त्री यादवले निजगढ विमानस्थल मधेशको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको पनि स्पष्ट पार्नुभयो । ‘तर रुख काटेर जग्गा खाली गराउने, अनि फेरी बस्ती बसाल्ने र मुआब्जा दिने, मन्त्री यादवले भन्नुभयो, अब यस्तो परिपाटी चल्दैन ।’ पहिला मुआब्जा पाएको जग्गा खाली हुनुपर्छ । विमानस्थल निर्माणको लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म मन्त्रालयले एउटा पनि रुख काट्न अनुमति दिँदैन ।’ उहाँले भन्नुभयो ।

अर्को फरक प्रसङ्गमा वन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउनुहुँदै उहाँले मन्त्रालयको निर्देशनबमोजिम वन जङ्गलको संरक्षणको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वन जङ्गल संरक्षणमा तदारुकता देखाउन उहाँले आग्रह गर्नुभएको छ । तस्करसँग मिलेर काठ, ढुंगा र गिटीको तस्करी गर्ने गरेको जस्ता गुनासोहरु सुनिएको बताउनुहुँदै उहाँले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न कर्मचारीहरुसंग आग्रह गर्नुभएको छ ।

राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउनुहुँदै उहाँले सम्मान पाउन लायकको काम गर्न पनि वन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । केही समयभित्रै वन मन्त्रालयले सम्मान कार्यक्रमको आयोजना गर्ने हुँदा त्यसको लागि आवश्यक तयारी पनि भइरहेको मन्त्री यादवले जानकारी दिनुभयो ।

त्यसैगरी उहाँले सुकुमवासीको नाममा धनाढ्यहरुले पनि जग्गा कब्जा गरेर राखेको बताउँनुहुँदै अबदेखि असली सुकुम्बासीको पहिचान गरेर मात्र जग्गा धनी पूर्जा वितरण गरिने बताउनुभयो । ‘सुकुमवासीको पूर्जा लिएर काठमाडौँ र ठूलाठूला शहरमा आलिशान महल, गाडी भएकाहरु पनि छन्, मन्त्री यादवले भन्नुभयो, त्यस्ता सयौँलाई म आफै चिन्छु ।’ लाखौँको सुनको सिक्री लगाएर सुकुम्बासी भन्नेहरुको पहिचान गरेर अबदेखि सही व्यक्तिलाई मात्रे जग्गा धनी पूर्जा वितरण गर्छौ ।’ उहाँले भन्नुभयो ।

बाघको संख्या बढेको सन्दर्भमा उहाँले विश्वव्यापी रुपमा नेपालको चर्चा चलिरहेको बताउनुहुँदै बाघ हेर्न आउने पर्यटकलाई बढावा दिनुपर्नेमा पनि जोड दिनुभएको छ ।

वन संरक्षणमा जनशक्ति कम भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ति गर्नुपर्नेमा जोड दिँदै उहाँले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सरहाना पनि गर्नुभयो । जङ्गल विनाश गर्दा यसको असर हामीले नै भोग्नुपर्ने भएकाले जंगलको संरक्षण गर्न पनि हामी सबै मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेशसभा सदस्य अशोक यादव, ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्यलगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply