नरेश गुप्ता

बरियारपुर,किर्ते गरेर नेपाली नागरिकताको प्रमाण पत्र बनाएका कुख्यात भारतीय तस्कर सुनिलकुमार गुप्तालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरी परिचालन गरेको छ ।

गुप्ता र उनकी श्रीमती रञ्जनाले वीरगन्ज महानगरपालिका वडा नम्बर ७ बतन देखाएर फर्जी कागजपत्रको आधारमा प्रमाणपत्र नम्बर ३४३०२२४४० बाट नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन ।

नेपाली नागरिकताको खारेजी र कानुनी कारबाहीको माग गर्दै गुप्ता दम्पति विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा वीरगन्ज, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार र गृहमन्त्रालय सिंहदरबारमा उजुरी परेपछि प्रहरीले खोजतलास सुरु गरेको हो ।

भारत बिहार पूवीचम्पारण जिल्ला जिहुली वडा नम्बर ५ घर भएका तस्कर गुप्ताले रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ शिबनगरमा विवाह गरेका छन । उनले जिल्ला प्रशासन कार्यालय पर्साबाट नक्कली आमा, बुबा खडा गरी नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेको जिप्रका पर्सा स्रोतले बताएको छ । भारतमा गुप्ताको आधार कार्ड, रासन कार्ड, मतदाता परिचय पत्र समेत रहेको बताइएको छ । भारतीय मतादाता रहेका गुप्ताको क्रम सख्या ८२६ र श्रीमती रञ्जना देबीको क्रम संख्या ८१७ रहेको छ । किर्ते गरेर नेपाली नागरिकताको प्रमाण पत्र लिएको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय पर्सा वीरगन्जले छानबिन कार्य अगाडि बढाएको हो ।

गुप्ता र उनकी श्रीमती रञ्जनाको नाममा १० वर्षको अवधिमा करोडौं रुपैया बराबरको चलअचल सम्पत्ति आर्जन भएको पनि बताइएको छ । उनीहरु दुबैले नेपाल भारत खुला सिमाको फैइदा उठाउदै अबैध कारोबार गर्दै आएको स्थानीय रमेश गुप्ताको भनाइ छ ।

गुप्ताकी श्रीमती रञ्जना भनिने रजनाकुमारी गुप्ताले भारतीय नागरिकको रुपमा सबै सुविधा लिदै आएको भएपनि अविवाहित भन्दै उनले पनि जिल्ला प्रशासन कार्यालय गौरबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छिन । दोहोरो नागरिकको सुविधा लिने भारतीय नागरिक रञ्जनामाथि पनि कानुनी कारबाहीको माग गरिएको छ । रन्जना पनि सुन र लागूऔषधको कारोबारमा संलग्न रहेको समाचार स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here