कलैया,बाराको कलैया उपमहानगरपालिकामा पनि खानेपानीका चापाकल सुक्न थालेपछि खानेपानी संकट शुरु भएको छ ।लामो खडेरीका कारण कलैयाका विभिन्न वडाहरूमा चापाकलहरू सुक्न थालेपछि स्थानीय बासिन्दा दैनिक जीवनमा अत्यन्तै कठिनाइमा परेका छन् ।विशेषगरी वडा नम्बर १७ अन्तर्गत ठूलो ब्रह्मपुरी र सानो ब्रह्मपुरी क्षेत्रका अधिकांश चापाकलबाट पानी आउन छाडेको छ । करिब तीन सय घरधुरी रहेका यी दुबै टोलमा अधिकांशको घरमा जडान भएका चापाकल सुकिसकेका छन् । यसले गर्दा खाना पकाउने, लुगा धुने, नुहाउने लगायतका काममा समस्या निम्तिएको स्थानीयले जनाएका छन ।
“कहिलेकाहीं पानी परेपछि थोरै पानी आउँछ, नत्र चापाकल सुकेको हुन्छ,” स्थानीय सरोज साहले भन्नुभयो, अहिले अधिकांश घरका मानिसहरू छिमेकीका घरमा पानी माग्न, खेततिर पम्पिङ गरेर पानी ल्याउन वा खोला नजिकका चापाकल प्रयोग गर्न बाध्य छन ्।’स्थानीय अजय कुशवाहाका अनुसार गाउँको कालोपत्रे सडकको पूर्वतर्फका चापाकल पूर्ण रूपमा सुकेका छन् भने पश्चिमतर्फका केही चापाकलमा मात्र पानी आइरहेको छ । “एक सय १६ फिट गहिरोमा गाडिएको चापाकलसमेत सुक्दै जानु चिन्ताको विषय हो ।” उहाँले भन्नुभयो ।यो समस्या केवल व्यक्तिगत वा एउटा टोलको मात्र नभई उपमहानगरकै साझा समस्या बन्दै गएको छ । स्थानीयबासीले नगरपालिकासँग तत्काल वैकल्पिक पानी स्रोतको व्यवस्था मिलाउन माग गरेका छन ।


















