अनिल तिवारी
सिमरा – लामो समयदेखी काठमाण्डौंको त्रिपुरेश्वरबाट सेवा प्रदान गरिरहेको नेपाल आखा अस्पतालले बारामा पहिलो सेवा केन्द्र विस्तार गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित औराहमा अस्पतालले बिहिवारदेखी उपचार केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो ।
उपचार केन्द्र सुरु गरेको अस्पतालले सिमरामा आधुनिक अस्पताल र रिसर्च सेन्टर बनाउने लक्ष्य लिएको छ । अस्पताल निर्माण गर्नका लागि आवश्यक जग्गा स्थानिय समाजसेवी कासिम मियाले जग्गा उपलब्ध गराएका छन् । जग्गा प्राप्त भएसंगै काठमाण्डौ केन्द्रीत सेवालाई जिल्लामा विस्तार गर्न लागिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन घलेले बताउनुभयो ।
तत्काल सेवा सुरु गरिएको केन्द्रबाट सबै किसिमको उपचार गर्न सकिने घलेले बताए । औराहमा रहेको घरलाई भाडामा लिएर अस्थायी अस्पतालको स्वरुप दिइएको र त्यसैबाट सेवा सुरु गरिएको घलेको भनाई छ । केन्द्रबाट गम्भिर प्रकृतिका समस्याबाहेक अन्य सबै सेवा दिन सकिने ब्यवस्थापन मिलाइएको घलेले बताउनुभयो । उपचार केन्द्रको प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा र जग्गा दाता कासिम मियाले संयुक्ता रुपमा उद्घाटन गर्नुभएको छ । नेपाल आखा अस्पतालको सिमरामा निर्माण हुने आधुनिक अस्पताल र रिसर्च सेन्टरका लागि स्थानिय समाजसेवी कासिम मियाले तीन करोड मूल्य पर्ने पाँच कठ्ठा जग्गा उपलब्ध गराउनुभएको हो ।
आफ्नो बुवा छिनारी मिया र स्वर्गिय आमा फतमा खातुनको नाममा आफूले आखा अस्पताललाई जग्गा उपलब्ध गराएको मियाले बताउनुभयो । आँखाको रोगी बुवालाई उपचार गराउन विभिन्न ठाउमा धाउनुपरेको पीडा सुनाउदै मियाले आफ्नै ठाउमा अस्पताल स्थापना गर्न सकिए नागरिकले सहज सेवा पाउने मियाको भनाई छ ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य सुन्दर विस्वकर्मा, सिता गुरुङ्ग, पूर्वसभासद जयराम दहाल, शोभाकर पराजुली, वडाअध्यक्ष भोजबहादुर खत्री लगायतले मन्तब्य राख्दै उपचार केन्द्र स्थापनाले स्थानियलाई राहत पुग्ने बताए । उपचार केन्द्रबाट जिल्लाको ग्रामिण क्षेत्रका बासिन्दाले समेत सहजरुपमा सेवा पाउनेमा आफूहरु आशावादी रहेको उनिहरुको भनाई थियो ।
कार्यक्रममा नेपाल आखा अस्पतालका अध्यक्ष तथा बरिष्ठ अधिवक्ता बालकृष्ण मैनाली, निर्देशक कमलबहादुर खड्कालगायत उपस्थित रहेको थियो ।