एजेन्सी — पछिल्लो समय स्वास्थ्यसम्बन्धी सामान्य जानकारी लिन मानिसहरू एआई च्याटबटतर्फ आकर्षित भइरहेका छन्। विशेषगरी ChatGPT, Gemini र Grok जस्ता प्लेटफर्महरू सजिलै उपलब्ध भएकाले प्रयोगकर्ताहरूले छिटो जवाफ पाउने विकल्पका रूपमा यिनलाई प्रयोग गर्न थालेका छन्।

बेलायतको म्यान्चेस्टरमा बस्ने एबि (नाम परिवर्तन) विगत एक वर्षदेखि आफ्नो स्वास्थ्यसम्बन्धी जिज्ञासा समाधान गर्न एआई च्याटबट प्रयोग गर्दै आएकी छन्। चिकित्सकसँग तुरुन्त भेट पाउन कठिन हुने अवस्था र छिटो प्रतिक्रिया पाउने सुविधाका कारण उनले च्याटबट प्रयोग गर्न थालेको बताइन्।

उनका अनुसार इन्टरनेटमा खोजी गर्नुभन्दा च्याटबटसँग सिधै प्रश्न सोध्नु सहज लाग्छ। “कुनै हदसम्म चिकित्सकसँग कुराकानी गरेजस्तै अनुभव हुन्छ,” उनले भनिन्।

तर, एआई च्याटबटको प्रयोगले सकारात्मकसँगै नकारात्मक अनुभव पनि दिएको उनी बताउँछिन्। कतिपय अवस्थामा च्याटबटले सामान्य लक्षणलाई पनि गम्भीर रोगतर्फ संकेत गर्ने हुँदा अनावश्यक चिन्ता बढ्ने गरेको उनको अनुभव छ।

यद्यपि, केही अवस्थामा यसले उपयोगी सल्लाह पनि दिएको उनले उल्लेख गरिन्। उदाहरणका लागि, मूत्रनली संक्रमणको आशंका हुँदा च्याटबटले उनलाई फार्मासिस्टकहाँ जान सुझाव दिएको थियो। त्यसपछि चिकित्सकीय परामर्शअनुसार उनलाई आवश्यक औषधि (एन्टिबायोटिक) दिइएको थियो।

एबिका अनुसार, “कहिले चिकित्सककहाँ जाने भन्ने अन्योल हुनेहरूका लागि यस्तो प्रविधि सहयोगी हुन सक्छ।”

विज्ञहरूको सुझाव के छ?

स्वास्थ्य विज्ञहरूका अनुसार एआई च्याटबटले प्रारम्भिक जानकारी दिन सहयोग गरे पनि यसलाई अन्तिम चिकित्सकीय निर्णयको आधार बनाउन भने उचित हुँदैन। च्याटबटले कहिलेकाहीँ गलत वा अपूर्ण जानकारी दिन सक्ने भएकाले गम्भीर लक्षण देखिएमा अनिवार्य रूपमा योग्य चिकित्सकसँग परामर्श लिनुपर्ने सुझाव दिइन्छ।

Leave a Reply