सिमरा,जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले बाराको पथलैयामा रहेको स्वास्थ्य तालिम केन्द्रमा तत्काल ट्रमा सेन्टर सञ्चालन गर्न मधेस प्रदेश सरकारसँग माग गरेको छ ।

सरोकार समितिका संयोजक मनोज पौडेलले एक विज्ञप्ति निकालेर पथलैयास्थित मधेस प्रदेश स्वास्थ्य तालिम केन्द्रको भवनमा ट्रमा सेन्टर संचालन गर्न सरकारसंग आग्रह गर्नुभएको हो । संयोजक पौडेलले विगत तीन वर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट बिनियोजन हुदै आएको भए पनि प्रदेश सरकारले सेवा सञ्चालन नगरेर बारा, पर्सा, रौतहट र राजमार्गमा यात्राका क्रममा दुर्घटनाबाट घाइते भएका यात्रुको उपचार पाउने आधिकारको हनन गरेको बताउनु भएकोछ ।

सरोकार समितिका संयोजक पौडेलले चालू आर्थिक वर्षमा ट्रमा सेन्टर (अस्पताल) सञ्चालनका लागि बजेट नैं बिनियोजन नगर्नु थप दुखःको कुरा भएको बताउदै तत्काल आवश्यक प्रक्रिया पूरा गरि ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सरोकार समितिको तर्फबाट जोडदार माग गर्दछु भन्नुभएको छ । विज्ञप्तिमा उहाँले ट्रमा सेन्टर संचालन नगरिए आन्दोलनमा उत्रन बाध्य हुने पनि जनाउनुभएको छ ।

पूर्वपश्चिम लोकमार्ग र त्रिभुवन राजपथमा सवारी दुर्घटनामा हुने घाइतेको तत्काल उपचार गर्न र घाइतेको ज्यान बचाउन लागि पथलैयामा रहेको स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर स्थापना गर्ने भनेर केन्द्रीय सरकार र विगत दुई वर्षदेखि मधेस प्रदेश सरकारले पनि बजेट विनियोजन गर्दै आएको थियो ।

त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगमस्थलको रुपमा रहेको पथलैयाको सो तालिम केन्द्रको गत वर्ष प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले निरीक्षण गर्दै तत्काल ट्रमा सेन्टर सञ्चालनमा ल्याउने स्थानीयसँग प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । मुख्यमन्त्री गद्दीको आश्वासनपछि खुसी बनेका स्थानीय बासिन्दा ट्रमा सेन्टरको काम सुरु नहुदा अहिले निराश बन्दै गएका छन ।

यस वर्ष भने प्रदेश सरकारले ट्रमा सेन्टर सञ्चालन गर्नु त परै जाओस बजेट समेत नराखेपछि स्थानीय चिन्तित बनेका छन । मध्याञ्चल क्षेत्रीय स्वास्थ तालिम केन्द्रको रुपमा रहेको सो भवन देशमा संघीयता लागू भएपछि मधेस स्वास्थ्य केन्द्रको रुपमा राखिएको छ । कर्मचारी र अन्य सेवाको अभावमा उक्त तालिम केन्द्र हाल प्रयोगविहिन अवस्थामा रहेको छ ।

Leave a Reply