वीरगञ्ज,नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगञ्जले गण्डक नहरको किनारमा अतिक्रमण गरी बनाइएका पक्की तथा कच्ची घर, टहरा, भकारी र झुप्रोहरू हटाउन आइतबार बिहान ६ बजेदेखि सुरक्षाकर्मी परिचालन गरी अभियान सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्ज र गुठी संस्थानको आग्रहमा वीरगञ्ज गण्डक चोकदेखि पर्सा जिल्लाको जानकी टोलासम्मको करिब २६ किलोमिटर गण्डक नहरको दायाँ–बायाँ (डिल) अतिक्रमण गरी बनाइएका करिब ४८० वटा पक्की तथा कच्ची संरचना हटाउने कार्य भइरहेको छ ।
उहाँले गुठी संस्थान पर्साको आग्रहमा पर्सा जिल्लाको महुवन मठ वरपर गुठीको जग्गा अतिक्रमण गरी बनाइएका ४८ वटा कच्ची तथा पक्की घर–टहरा पनि आइतबार साँझसम्म हटाइसकिने गरी काम भइरहेको जानकारी दिनुभयो ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख मनोज पटेलका अनुसार वीरगञ्ज गण्डक चोक र पर्साको जानकी टोलाबाट एकैसाथ चार वटा डोजर (ब्याकहो लोडर) तथा प्राविधिक र जनशक्ति परिचालन गरी अतिक्रमित संरचना हटाउने काम भइरहेको छ ।
उहाँले पहिलो चरणमा गण्डक नहरको मुख्य भाग र दोस्रो चरणमा सहायक नहरको डिलमा बनेका संरचना हटाइने जानकारी दिनुभयो ।
नहरको किनारमा अव्यवस्थित बसोबास र संरचनाका कारण सरसफाइमा समस्या हुँदै आएको तथा फोहोर थुप्रिँदा पानी जम्ने र पानी प्रवाहमा समेत असर परेको छ ।
त्यसैगरी पर्साको सखुवा प्रसौनी गाउँपालिका– ५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ ।
मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमित जग्गा खाली गराउने काम भइरहेको पालिका अध्यक्ष जयवस्न तयादवले जानकारी दिनुभयो ।उहाँका अनुसार बिहानैदेखि उक्त जग्गामा रहेको ३८० वटा घरटहरा खाली गराइएको हो । दुईवर्षदेखि खाली गराउने प्रयास गाउँपालिकाले गरिरहेको थियो । तर, त्यसमा मधेशका गृहमन्त्री केही दिनअघि चाँसो लिएर त्यहाँ पुग्दा खाली गर्ने योजना बनाएर अघि बढेको पालिका अध्यक्ष यादवको भनाई छ ।

यस्तै सोही गाउँपालिकाको मधुवनमा रहेको गुठीको २९ विघा अतिक्रमित जग्गा पनि खाली गराउने काम भइरहेको गृहमन्त्री फकिरा महतोले बताउनुभयो । खाली गराउन ३ सयको संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
व्यवसायीले आफै हटाउँदै अवैध संरचना
सिमरा,सडक डिभिजन कार्यालय हेटौंडाको अल्टिमेटमपछि महेन्द्र राजमार्गअन्तर्गत बाराको पथलैयादेखि चुरियामाई सडकखण्डसम्म सडक पेटीको दायाँ–बायाँ २५-२५ मिटरभित्र पर्ने अवैध संरचनाहरू हटाउन स्थानीय व्यवसायीहरू स्वयं सक्रिय भएका छन् ।
सडक डिभिजन कार्यालयले तोकेको समयसीमाभित्र संरचना नहटाए बल प्रयोग गरेर हटाइने चेतावनी दिएपछि अमलेखगन्जस्थित ३ नम्बर पुल आसपासका व्यवसायीहरुले होटेल, पसल तथा टहरा जस्ता संरचना भत्काउन सुरु गरेका हुन् ।

स्थानीय व्यवसायीहरूका अनुसार प्रशासनको निर्देशनपछि सम्भावित थप क्षति नहोस भनेर स्वेच्छाले संरचना हटाउन बाध्य भएका हुन् । “बलपूर्वक हटाइएमा अझ बढी नोक्सानी हुने भएकाले हामी आफैंले हटाएका हौं,” एक व्यवसायीले बताए ।सडक डिभिजन कार्यालयले सडक विस्तार, सवारी सुरक्षामा सुधार तथा दीर्घकालीन पूर्वाधार व्यवस्थापनलाई ध्यानमा राख्दै अतिक्रमण हटाउन गत हप्ता ३ दिनको समय तोकेर सडक क्षेत्रमा बनेका अवैध संरचना हटाउन सूचना जारी थियो ।

Leave a Reply