कलैया,कलैयास्थित मानवत– मटिअर्वा सडक संसदीय अनुगमन समितिको टोलीले शुक्रवार अनुगमन गरेको छ ।
कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले सो सडकको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर खण्डको निर्माण कार्य एक साताभित्र शुरु नगरिए आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट सांसद किसान श्रेष्ठको नेतृत्वमा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सदस्यहरुको टोलीले निरीक्षण तथा अनुगमन गरेको हो ।
समितिका सदस्यहरुले उक्त सडकखण्ड अन्तर्गत निर्माण हुन बाँकी रहेको संस्कार एफएमदेखि भारतचोकको स्थलगत अनुगमन गरेका थिए । सडक निर्माणको जिम्मा लिएका ठेकेदार काम छोडेर भागेपछि सडक निर्माण कार्य अलपत्र परेको छ ।कच्ची सडकबाट उडेको धुलो र हिलोका स्थानीयको जनजीवन प्रभावित बनेको भन्दै मेयर साहले बिहीवार पत्रकार सम्मेलनमार्फत १ साताभित्र सडक निर्माण शुरु नगरिए आमरण अनसनमा बस्ने घोषणा गर्नुभएको थियो । अनुगमन समितिलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख साहले सडक निर्माण कार्यमा देखिएका समस्याको बारेमा संसदीय टोलीलाई अवगत गराउनुभएको थियो ।
हुलाकी सडक आयोजना र सडक बोर्डको कार्यालयमा पटकपटक धाउँदा समेत निर्माण व्यवसायीले निर्माण कार्य शुरु नगरेको टोलीलाई जानकारी गराउनुभएको हो ।संसदीय टोलीका संयोजक श्रेष्ठले जनताको प्रत्यक्ष सरोकार रहेको सडक वर्षौँसम्म अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्ने बताउनुभयो । उहाँले ठेकेदारलाई समितिमा डाकेर यसबारे स्पष्टीकरण लिने र वर्षात अगावै सडक निर्माणको कार्य सम्पन्न गर्न समितिले निर्देशन दिने पनि आश्वासन दिनुभएको थियो ।
अनुगमन टोलीमा संसदहरु गणेश पराजुली, महेन्द्रबहादुर शाही, रमा कोइराला पौड्याल, रामशंकर यादव लगायतकाको सहभागिता थियो । अनुगमन समितिलाई संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व सांसद रामबाबुकुमार यादव, प्रदेश सभा सदस्य रबिनदास श्रेष्ठ, जसपा नेता रामकिशोर यादवलगायतले सडक निर्माणमा देखिएको अवरोध र यसबाट उत्पन्न समस्याबारे टोलीलार्य जानकारी गराएका थिए ।स्थानीयले पनि सडक निर्माणको माग राखेर आन्दोलन गर्दैआएका छन । बारा क्षेत्र ३ का सांसद ज्वालाकुमारी साहले जनताले भोगिरहेको समस्याप्रति सदनमा अवाज उठाउने र निर्माण कार्यको लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहल गरिने बताउनुभएको थियो ।



















