जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिकाको कार्यालय र नगरभित्र रहेका सबै वडा कार्यालयमा आज तालाबन्दी गरिएको छ । लामो समय बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै नगरपालिका प्रमुख संजीवकुमार साहको अगुवाइमा सबै कार्यालयमा तालाबन्दी गरिएको हो ।
नगरपालिका प्रमुख साहका अनुसार लामो समयदेखि कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीसँगै कर्मचारीलाई समेत काम गर्न अप्ठेरो परेकाले तालाबन्दी गर्नुपरेको हो । उहाँले भन्नुभयो, ‘कार्यालयमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत पठाउन अल्टिमेटम दिएका थियौँ । त्यसो हुन सकेन। काम गर्न अप्ठेरो भयो, त्यही भएर आज तालाबन्दी गरेका हौँ ।’
मेयर साहले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बारम्बार काठमाडौं धाए पनि मन्त्रीलाई भेट्न नपाएको र सचिवसमक्ष गुनासो राख्दा पनि अहिलेसम्म नपठाइदिँदा दैनिक कार्यमै अवरोध सिर्जना भएको बताउनुभयो । गएको सोमबार पनि मन्त्रालय गएको र मन्त्रीसँग भेट गराइदिन उहाँका पीएसँग आग्रह गर्दा ‘५ मिनेट’ भन्दै २ घण्टा कुराएर भेटघाट गर्न पनि नदिई ‘हामी पठाइदिन्छौँ’ भन्दै फर्काइएको उहाँले गुनासो गनुभयो ।
उहाँले भन्नुभयो, ‘अबको ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर हुनुभएन भने नगरभित्रका स्वास्थ्य र शिक्षाका सम्पूर्ण संस्थाहरू पनि बन्द गर्नेछौँ ।’ प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको प्रशासनिक तथा वित्तीय कार्यसँगै नगरको विकास निर्माणको काममा समेत अवरोध हुन पुगेको उहाँले बताउनुभयो ।
‘३ महिनादेखि यहाँका कर्मचारीले तलबभत्ता पाएका छैनन् । कार्यालय सहयोगीहरूलाई हामीले कहिलेसम्म कुराउने, जुनकी उहाँहरू यसमै आश्रित हुनुहुन्छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार बैंकमा खोलिनुपर्ने खाता समेत अहिलेसम्म खोलिएको छैन । पहिला भएका अधिकृतको नाममा खोलिदिन आग्रह गर्न जाँदा कोष तथा लेखा नियन्त्रक कार्यालयले नयाँकै नाममा मात्र खोल्न मिल्ने भनेपछि आफूहरू थप मारमा परेको उहाँले गुनासो गर्नुभयो ।
३ महिनादेखि तलबभत्ता खान नपाइरहेको अवस्थामा नजिकिँदै गरेको महान् चाड दसैँ, तिहारमा समेत तलबभत्ता नपाउने अवस्था सिर्जना हुँदै गएपछि बाध्य भएर यो कदम चाल्नुपरेको उहाँको भनाइ छ । तालाबन्दी गरिएका कार्यालयका चाबी भने सबै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाइएको छ ।

















