काठमाडौं । ताइवानमा बुधबार बिहान गएको भूकम्पबाट ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पमा परी करिब ९०० जना घाइते छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका कर्मचारीहरु नेशनल पार्क क्षेत्रमा बेपत्ता भएका हुन् ।आपतकालीन सेवाको टोली बुधबारदेखि नै खोज तथा उद्धार कार्यमा सक्रिय छ । उनीहरु भग्नावशेषहरु हटाउने र प्रभावितहरुलाई आश्रयस्थलको व्यवस्था गर्ने काममा व्यस्त छन् । भूकम्प प्रभावित व्यक्तिहरुले गएको राति त्रिपाल र टेन्ट मुनि बिताएका छन् ।बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७।४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट अग्ला भवनहरु भत्किएका थिए भने पहाडी क्षेत्रमा पहिरो गएको थियो ।ताइवानको यो भूकम्प २५ वर्षयताकै शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् । यसअघि सन् १९९९ मा ७।६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।

Leave a Reply