आर.के. चौधरी
सखुवाप्रसौनी,सखुवाप्रसौनी गाउँपालिकामा विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
‘स्वास्थ्यको लागि खेल’ भन्ने नाराका साथ श्री दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयको खेल मैदानमा शनिवारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा प्रमुख अतिथिको रुपमा बोल्दै सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता खेलाडीहरूको महान उत्सव भएको बताउनुभयो । खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकोले खेलाडी देशको गहना भएको गाउँपालिका अध्यक्ष यादवको भनाई छ । खेलकुदले नयाँनयाँ प्रतीभा तयार गर्ने र विद्यार्थीहरुलाई खेलतर्फ प्रेरित गर्ने उहाँको विश्वास छ ।खेल क्षेत्रले सखुवाप्रसौनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यको रुपमा स्थापित गर्न योगदान गर्ने उहाँले बताउनुभयो । आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उहाँले खेल क्षेत्रमा लाग्नेहरुको पनि भविष्य उज्जवल भएको बताउनुभयो ।

माघ शनिवारबाट शुरु भएको विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा गाउँपालिका अन्तर्गतका २९ वटा सामुदायिक विद्यालयहरु मध्ये सात वटा विद्यालयले सहभागिता जनाएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेपालेन्दु साहले जानकारी दिनुभयो ।सखुवाप्रसौनी गाउँपालिकाको सहयोग र शिक्षा शाखाको आयोजनामा सुरु भएको विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बिशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष शर्मिला बिस्ट, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार, अन्य अतिथिहरुमा वडा १ का अध्यक्ष बाशुदेव महतो थारु, वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, ३ का मोजामिल अनसारी, वडा नम्बर ४ का अध्यक्ष मोहम्द आरिफलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिता दुई दिनसम्म चल्ने बताइएको छ ।

Leave a Reply