आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ र ६ मा भुस्याहा हिंसक कुकुरको आतंक बढ्दै जाँदा स्थानीय बासिन्दा त्रसित बनेका छन् ।गएराति कुकुरको आक्रमणबाट गाउँमा पशुधनमा ठूलो क्षति पुगेपछि स्थानीयमा त्रास बढेको छ ।
सिम्रौानगढको वडा नम्बर ५ स्थित सानो ईटवाल गाउँका जाहिर अन्सारीको आठ वटा खसी÷बाख्रा कुकुरको आक्रमणबाट मरेका छन । त्यस्तै सोही स्थानका गणेशी महतो नुनिया र युनुस अन्सारीका तीन÷तीन वटा खसी÷बाख्रा मरेका छन् भने चार वटा बाख्रा घाइते भएका छन् । स्थानीयका अनुसार करिब १ सयको संख्यामा आएका कुकुरमध्ये १० वटा समूहमा रहेका बौलाहा कुकुरहरूले घरको ढाँट फुटाएर भित्र पसी बाख्राको खोरमै पसेर आक्रमण गरेका थिए ।
ती कुकुरहरूले सर्वसाधारण, बालबालिका तथा अन्य स्थानीयलाई समेत आक्रमण गरी घाइते बनाएको बताइएको छ । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी टोलीले घटनास्थलमा पुगेर निरीक्षण तथा जानकारी संकलन गरेको छ ।स्थानीय बासिन्दाले आफ्नो पशुधन र जीवन रक्षाको माग गर्दै सम्बन्धित निकायसँग तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् । कुकुरको आक्रमणको त्रासका कारण अहिले गाउँका किसानहरू खेतबारीमा एक्लै जानसमेत नसक्ने अवस्था रहेको जनाइएको छ । जसका कारण किसानहरुलाई चैते धानमा सिँचाइ, मकै तथा तरकारी खेतीमा काम गर्न समस्या भएको छ ।
स्थानीयले कुखुरा फार्म र मासु बजारका कारण यति धेरै संख्यामा कुकुरहरु बौलाएको हुनसक्ने बताएका छन । गाउँमा रहेका कुखुरा फार्महरूमा मरेका कुखुरा व्यवस्थापन नगरी जथाभावी फाल्न गरिएको र मासु पसलहरूबाट निस्केको फोहोर पदार्थ पनि खुला रूपमा फाल्ने गरिएकाले सोही फोहोर दुषित मासु खाएका कुकुरहरू बौलाएर आक्रामक बनेको हुनसक्ने जनाइएको छ ।
















