दुष्यन्त चौधरी
कलैया,राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत बारा जिल्लामा स्थलगत तथ्याङ्क संकलन कार्य औपचारिक रूपमा सुरु भएको छ । “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालनमा आएको यो गणना वैशाख २ गतेदेखि देशभर एकैसाथ सुरु भएको हो ।जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्राप्त गर्न र तथ्याङ्कमा आधारित नीति निर्माणलाई सुदृढ बनाउन यो गणना सञ्चालन गरिएको हो । उहाँका अनुसार गणनाबाट प्राप्त विवरणले उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारीको अवस्था, उत्पादन तथा सेवा प्रवाह सम्बन्धी विस्तृत तथ्याङ्क उपलब्ध गराउनेछ ।
कार्यालयका अनुसार स्थलगत गणना २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुनेछ । गणनालाई प्रभावकारी बनाउन बारा जिल्लामा ७५ जना तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ, जसमा ६६ जना गणक र ९ जना सुपरिवेक्षक रहेका छन् । उनीहरू घर–घर तथा प्रतिष्ठानमा पुगेर तथ्याङ्क संकलन कार्यमा खटिएका छन् ।यसअघि गणना सहजीकरणका लागि जिल्ला आर्थिक गणना कार्यालयले सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । २०८२ चैत १९ गते जिल्लास्तरीय तथा २० गते पालिकास्तरीय अन्तरक्रिया गरी स्थानीय तह, व्यवसायी र अन्य सरोकारवालालाई गणनामा सहयोग गर्न आग्रह गरिएको हो । गणना सञ्चालनका लागि २०८२ चैत १ गतेदेखि २०८३ असार मसान्तसम्म रहने गरी जिल्ला आर्थिक गणना कार्यालय, बारा स्थापना गरिएको छ ।
राष्ट्रिय आर्थिक गणनाबाट प्राप्त विवरणका आधारमा आगामी आर्थिक वर्ष २०८३÷८४ को सुरुदेखि नै तथ्याङ्क प्रशोधन र विश्लेषण गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । यस कार्यको नेतृत्व राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली, काठमाडौंले गरिरहेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक गणना देशको आर्थिक संरचना बुझ्ने, रोजगारीको अवस्था पहिचान गर्ने र दीर्घकालीन तथा अल्पकालीन आर्थिक योजना निर्माणका लागि अत्यन्त महत्वपूर्ण आधार हो । यसले देशभर रहेका साना–ठूला उद्योग, व्यापार, सेवा क्षेत्र र विभिन्न व्यवसायहरूको यथार्थ विवरण संकलन गर्नेछ ।
कार्यालयले उद्यमी तथा व्यवसायीलाई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गर्दै यिनै तथ्याङ्कले देशको आर्थिक समृद्धिको दिशा तय गर्ने जनाएको छ । साथै, संकलित व्यक्तिगत वा संस्थागत विवरणहरू तथ्याङ्क ऐन, २०७९ अनुसार पूर्ण रूपमा गोप्य राखिने र केवल सांख्यिकीय तथा योजना निर्माण प्रयोजनका लागि मात्र प्रयोग गरिने स्पष्ट पारिएको छ ।
कार्यालयका अनुसार अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रका २१ क्षेत्रमध्ये १८ क्षेत्रमा आधारित रहेर गणना भइरहेको छ । यस अन्तर्गत दर्ता भएका तथा नभएका साना–ठूला व्यापार÷प्रतिष्ठान, उद्योग, कलकारखाना, सेवा प्रदायक संस्था, सहकारी, गैरसरकारी संस्था, विद्यालय, अस्पताललगायत आर्थिक गतिविधिमा संलग्न एकाइहरू समेटिएका छन् ।
तर अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, सार्वजनिक प्रशासन, नियमनकारी सरकारी निकाय, सुरक्षा निकाय तथा सामान्य घरायसी क्रियाकलाप गर्ने निकाय भने गणनामा समावेश गरिएका छैनन् ।
यसपटक आर्थिक गणनालाई प्रविधिमैत्री बनाइएको छ । कार्यालयका अनुसार ‘ई–सेन्सस’ प्लेटफर्ममार्फत व्यवसायी तथा प्रतिष्ठानहरूले अनलाइनबाटै आफ्ना विवरण भर्न सक्ने व्यवस्था मिलाइएको छ । गणकले उपलब्ध गराएको युजर नेम र पासवर्ड प्रयोग गरी सम्बन्धित पोर्टलमा लगइन गरेर विवरण प्रविष्ट गर्न सकिनेछ ।त्यस्तै, गणना क्षेत्र पहिचानका लागि डिजिटल नक्सा प्रणाली (न्क्ष्क्) प्रयोगमा ल्याइएको छ भने दैनिक प्रगति अनुगमन गर्न प्रविधिमा आधारित रिपोर्टिङ सिस्टम र केन्द्रमा ड्यासबोर्डसहितको कन्ट्रोल रुम सञ्चालनमा रहेको छ । स्थलगत कार्यमा देखिएका समस्या तत्काल समाधान गर्नसमेत यसले सहयोग पु¥याउने विश्वास गरिएको छ ।
गुनासो व्यवस्थापनका लागि टोल–फ्री नम्बर ११७८ समेत सञ्चालनमा ल्याइएको छ ।
कार्यालयका अनुसार आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुमानलाई अझ सुदृढ बनाउने, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्न सहयोग गर्ने तथा नीति निर्माण र विकास योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। यसले लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक विकासका कार्यक्रमलाई प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यसअघि २०७५ सालमा गरिएको पहिलो आर्थिक गणना
अनुसार बारा जिल्लामा १२ हजार ४ सय ४९ प्रतिष्ठान रहेका थिए । तीमध्ये ४ हजार ७ सय ३६ मात्र दर्ता भएका थिए भने ठूलो संख्या विनादर्ता सञ्चालनमा रहेको पाइएको थियो । जिल्लामा ४८ हजार ७ सय २४ जनशक्ति आर्थिक क्रियाकलापमा संलग्न रहेको तथ्याङ्कले देखाएको थियो ।

















