निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६, वडा कार्यालयको आयोजनामा निजगढ सामुदायिक अस्पताल, समुदायमा आधारित प्रसुति गृह र निजगढ तिलगंगा आँखा अस्पतालको सहयोगमा शुक्रवार भएको निःशुल्क स्वास्थ्य परीक्षण शिबिरमा १४४ जना बिरामीहरुले स्वास्थ्य परीक्षण गराएका छन ।वडा नम्बर ६ को कार्यालय सडकटोलमा भएको शिबिरमा ८७ जना महिला र ५६ जना पुरुष गरी १४४ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रसुति गृहका प्रशासन प्रमुख सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।शिबिरमा निजगढ सामुदायिक अस्पतालका चिकित्सक सरोजकुमार कुसवाहा र लक्ष्मी सिन्हा र निजगढ तिलगंगा सामुदायिक अस्पतालका प्राविधिक अमन चौधरीलगायतले आँखासम्बन्धि समस्या, ब्लड प्रेसर तथा सुगर जस्ता रोगको परीक्षण गर्नुको साथै महिलाहरुमा सेतो पानी बग्ने, महिनावारी गडबडी तथा यौनाङ्गसम्बन्धि परामर्श र उपचारको साथै औषधिसमेत वितरण गरिएको थियो ।त्यसैगरी शिबिरमा बाल रोग, ढाड, पेट, घुँडा दुख्ने र ग्यास्टिकसम्बन्धि परामर्श र उपचार सेवा पनि प्रदान गरिएको प्रशासन प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।स्वास्थ्य शिबिरमा वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा सदस्यहरु मिना सुनार, आशा श्रेष्ठलगायतले सहजीकरण गर्नुभएको थियो ।


















