सिमरा,बाराको जितपुरसिमरा उपमहानगरपालिका २ स्थित आन्तरिक राजस्व कार्यालय नजिकै टायल डेलिभरी गर्न गएका दुई युवकमाथि तरवार प्रहार गर्ने एक युवक पक्राउ परेका छन ।जीतपुरसिमरा ४ का २८ वर्षीय राजेन्द्रप्रसाद दाहाल टायल पु¥याउन पुगेका बेला घरधनीको ठेगाना एकिन गर्ने क्रममा स्थानीय २५ वर्षीय राज अंसारीले एक्कासी रिसको आवेशमा आएर बिहीबार साँझ तरवार प्रहार गरेका थिए ।
सो आक्रमणबाट दाहालको बाँया कोखामा चोट लागेको छ भने झगडा छुट्याउन खोज्दा सहचालक मोहमद ओजिरको दाहिने हातको बुढी औँलामा चोट लागेको छ ।घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले आक्रमणमा संलग्न राज अंसारीलाई प्रयोग गरिएको हतियारसहित तत्काल नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार घाइते दुवै जनालाई उपचारका लागि सिमरास्थित अस्पताल पठाइएको थियो । उपचार पश्चात् उनीहरू डिस्चार्ज भइसकेका छन् भने उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
प्रहरीले पक्राउ परेका अंसारीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

















