निजगढ,निजगढ नगरपालिकाका ३ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको छ ।
राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने आज सम्पन्न दोश्रो चरणको कार्यक्रमअन्तर्गत नगरभित्रका ३ हजार ९१ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधिको क्याप्सुल खुवाइएको निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार उमेर समुहका लक्षित बालबालिकाहरुलाई भिटामिन ए, जुकाको औषधिसंगै बालभिटा पनि खुवाइएको हो ।
नगरपालिकाले आइतवारबाट निजगढका २७ वटा केन्द्रबाट १ वर्षमाथि र ५ वर्षमूनिका बालबालिकालाई भिटामिन खुवाएको हो ।अभियान अन्तर्गत भिटामिन ए खुवाउन छुट भएका बालबालिकालाई नजिकको महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्य संस्थामा सम्पर्क क्याप्सुल खुवाउन पनि स्वास्थ्य शाखा प्रमुख लामाले आग्रह गर्नुभएको छ ।
भिटामिन ‘ए’ ले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता र वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्ने अनि जुकाको औषधिले पेटका किरा हटाउने, कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखालाजस्ता समस्याबाट जोगाउने चिकित्सकहरुले बताएका छन् ।हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरिन्छ ।
















