वीरगञ्ज,प्रहरीले आज पर्सा र रौतहटस्थित मालपोत कार्यालयबाट ७ जना बिचौलियालाई पक्राउ गरेको छ ।
प्रहरीले पर्साको पोखरियास्थित मालपोत कार्यालयबाट ३ र रौतहटको गौरस्थित जिल्ला मालपोत कार्यालय बाट ४ जना गरी ७ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट शुक्रवार खटिएको प्रहरी टोलीले मालपोत कार्यालयबाट तीन जना बिचौलियालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका बिचौलियाहरूको नाम भने खुलाएको छैन ।मालपोत कार्यालयमा अनावश्यक रूपमा प्रवेश गरेर सेवाग्राहीलाई हैरान पार्ने कार्यमा संलग्न असम्बन्धित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो ।

कार्यालयभित्र छिरेर सेवाग्राही र कर्मचारीलाई दुःख दिने गुनासो आएपछि तीन जनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।नियन्त्रणमा लिइएका तीनै जनालाई इलाका प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “उनीहरूले आफू लेखापढी व्यवसायी भएको दाबी गरेका छन् । त्यसबारेमा हामीले छानबिन गरिरहेका छौँ ।”

भूमि व्यवस्थापन तथा अभिलेख विभागले यसअघि देशभरका मालपोत तथा भूमि सुधार कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै बाहिरी व्यक्तिलाई कार्यालयका कागजात र स्रेस्तामा पहुँच नदिन कडा निर्देशन जारी गरेको थियो ।विभागले बुधवार सबै मालपोत र भूमि सुधार कार्यालयलाई परिपत्र गर्दै कार्यालयका गोप्य र संवेदनशील कागजातहरूमा बिचौलिया तथा अनधिकृत व्यक्तिहरूको अनियन्त्रित पहुँच बढेको भन्दै यस्तो कदम चलाइएको बताएको छ ।

त्यसैगरी रौतहटको भूमि सुधार तथा मालपोत कार्यालय गौरबाट पनि चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद रहेका छन् । सेवाग्राहीसँग रकम असुली गरी काम गराउने चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।सरकारले मालपोत कार्यालयहरूमा बिचौलियाको प्रवेश निषेध गर्न निर्देशन दिएपछि प्रहरी टोली आज कार्यालयमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply